विराटनगर । विराटनगरस्थित स्वर संगम संगीतालयले आफ्नो ३१ औं वार्षिकोत्सव तथा स्वर सम्राट नारायणगोपालको ३५ औं स्मृतिसभामा पाँच जना स्रष्टाहरूलाई सम्मान र तीन जनालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।
बिहीबार आरोहण गुरुकुल, हाटखोला विराटनगरमा आयोजित सो कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र स्वर संगम संगीतालय अध्यक्ष कुशेश्वर राई, सचिव महिमा शर्मा पाण्डे र कोषाध्यक्ष रश्मी हमालले उनीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित स्रष्टाहरुमा कलाकर्मी अनुराधा थापा, गायक तथा संगीतकार कुवेर राई, साहित्यकार भवानी पोखरेल, गायकद्वय श्यामकृष्ण बाँस्कोटा र विभूतिराज कोइराला छन् ।
साथै संगीतालयको नियमित पाक्षिक कार्यक्रममा सम्मिलित हुने गायक भगवान झा तथा संगीतालयको वर्षभरीको सम्पूर्ण कार्यक्रम तथा गतिविधिमा सामेल भई दक्षतापूर्वक भूमिका निर्वाह गरेका प्रशिक्षार्थीद्वय कृतिका ढकाल र माही अटल वर्षकै उत्कृष्ट प्रशिक्षार्थीका रुपमा सम्मानित भएका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले मन्तव्य राख्दै नेपाली सङ्गीतको संरक्षणमा जोड दिएका थिए ।
यसका साथै संगीतालयले आयोजना गरेको नारायणगोपालको स्मृतिसभाको मुख्य आकर्षणमा १७ जना गायक, गायिका र ९ जना वाद्ययन्त्र वादकको प्रस्तुति रहेको थियो । उनीहरूले स्वर सम्राट नारायण गोपालका कालजयी गीतहरू गाएर उपस्थित करिब चार सय जना दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, उद्योगी बेनीगोपाल मुन्धडालगायत साहित्यकारहरूको बाक्लो उपस्थितिले सो कार्यक्रमले साहित्यिक र साङ्गीतिक दुवै महत्व बोकेको आभाष पाइएको कवि तथा कलाकार भरत बर्बरिकले बताए ।
आयोजकका तर्फबाट उद्घोषणको जिम्मेवारी बहन गरेका भरत बर्बरिकले आफ्ना मित्रहरू खड्ग थापा र सौरभ भट्टराई (गौरादह, झापा) लाई शब्दसम्मान गर्न पाउँदा पुलकित भएको बताएका थिए ।
कार्यक्रमका उद्घोषक कवि भरत बर्बरिकको कवितात्मक शैलीमा गरेको प्रस्तुतीले दर्शकदीर्घालाई उत्साहित बनाएको सम्मानित स्रष्टा श्यामकृष्ण बाँस्कोटाले बताए ।
View : 588
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved