Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चुनाव ग्रामथानमा, चन्दा आतंक विराटनगरमा

चुनावी खर्च जोहो गर्न भन्दै दलहरूले विराटनगरका उद्योगी तथा व्यवसायीहरूसँग चन्दाका लागि लगातार ताकेता गरिरहेको पाइएको छ । उद्योगी व्यवसायीहरूले दिएको जानकारी अनुसार चुनावका लागि खर्च भन्दै दल र नेताहरूले व्यापारीहरूलाई लगातार ताकेता गरिरहेका हुन् ।
उद्‌घोष सम्वाददाता
११ मंसिर २०८१, मङ्गलवार

विराटनगर । कुनै पनि  राजनीतिक दलका लागि चुनाव के हो के होइन ? यसका अनेकौं उत्तर हुनसक्छन् । तर, दल र नेताहरूका लागि चुनाव जनमत परीक्षणको एक महत्वपूर्ण घडी हो ।

राजनीतिशास्त्रको सर्वमान्य सिद्धान्तले गर्ने यस्तो  व्याख्या अब दल र नेताहरूको हकमा अपुरो सावित हुन थालेको छ । जस्तो कि ग्रामथानमा हुन लागेको उपनिर्वाचनलाई नै केही नेताहरूले चन्दा उठाउने बहाना बनाएको पाइएको छ ।

विराटनगर महानगरसँग साँध जोडिएको ग्रामथान गाउँपालिका यतिबेला चुनावी ज्वरोले तात्तिएको अवस्थामा छ । एक जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा सहभागी छन् ।

सुशासन र पारदर्शिताका पक्षमा चर्को भाषण गर्दै मतदाता फकाइरहेका राजनीतिक दलहरूले विराटनगर बजारमा भने चन्दा आतंक नै मच्चाइरहेका छन् । 

चुनावी खर्च जोहो गर्न भन्दै दलहरूले विराटनगरका उद्योगी तथा व्यवसायीहरूसँग चन्दाका लागि लगातार ताकेता गरिरहेको पाइएको छ । उद्योगी व्यवसायीहरूले दिएको जानकारी अनुसार चुनावका लागि खर्च भन्दै दल र नेताहरूले व्यापारीहरूलाई लगातार ताकेता गरिरहेका हुन् । 

‘अहिले कसैको फोन उठाउने अवस्था छैन’, विराटनगरका एक जना अगुवा उद्योगीले उद्घोषसँग भने ‘गाउँपालिका निर्वाचन लड्न भन्दै पैसा मागेको माग्यै छन् । एउटा होइन, सबैजसो दलले दिक्क लगाइरहेका छन् ।’

राजनीतिक दलका नेताहरूलाई आफ्नो पक्षमा पार्न उद्योगी व्यापारीहरूले उनीहरूलाई लामो समयदेखि सहयोग रकम दिने गरेको विषय ‘ओपन सेक्रेट’ जस्तै छ । तर, गाउँपालिकाको निर्वाचन लड्न पनि भएभरका दलहरूले ताकेता गरेपछि आफूहरू दिक्क बनेको उनीहरूको भनाइ छ । 

‘निर्वाचनमा, पार्टीका कार्यक्रम तथा आन्दोलनहरूमा सकेको सहयोग गर्दै आइएको छ’, अर्का एक उद्योगीले गुनासो गरे ‘गाउँमा चुनाव लड्न पनि दलहरूले हामीलाई नै दुःख दिनु चाहिँ उचित लागेन ।’ अहिले व्यापारमा आएको मन्दीका कारण पनि दलहरूको आग्रह टारिरहेको उनको भनाइ छ ।

ती उद्योगीले सुरूमा त सहयोग गर्ने मनसाय राखेको बताए । ‘एकै दलको एउटा टोली विहान, अर्को टोलीले दिउँसो अलग्गै भेटेर कुरा गर्न थालेपछि भने उनीहरूको नियत सही लागेन’, सम्बन्ध बिगार्न नचाहेको भन्दै पैसा माग्ने दल र नेताहरूको नाम बताउन नचाहेका ती उद्योगीले थपे ‘बजारमा चन्दा उठाउने टोली नै खटिएको गुनासो अरूले पनि गरेपछि थाहा भयो, चन्दाको धन्दा चलाउनेहरू सक्रिय रहेछन् ।’

आफू राजनीति धेरै नबुझ्ने बताउने ती उद्योगीले चन्दा आतंकले दिक्क बनेपछि उद्घोषलाई उल्टै सोधे ‘के गाउँपालिका चुनावमा पनि दलहरूले थामिनसक्नु गरी खर्च गर्नुपर्ने हुन्छ ? कि अन्यत्र चुनाव नभएको मौकामा बेला यही हो भनेर मौका छोपेका हुन् ?’ दल र नेताहरूको ताकेता निरन्तर खेपिरहेका उनले आफूले उनीहरूलाई छल्दै हिँडेको सुनाए । 

‘सोझै दिन्नँ भन्दा पनि नराम्रो मान्लान् भन्ने लाग्छ तर उनीहरूले जसरी ताकेता गरिरहेका छन् नि त्यो हेर्दा राख्नै दिए जस्तो गर्छन्’, उनले भने ।

View : 135

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved