विराटनगर । उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा प्रमाणित जनशक्ति भर्नासम्बबन्धी विषयमा सरोकारवालाबीच बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङको आयोजना, नेपाली युवा उद्यमी मञ्च झापाको समन्वय तथा एनभीक्यूएस परियोजनाको प्राविधिक सहयोगमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व सिकाइको मान्यता विधिमार्फत अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्थाबारे जानकारी गराइएको उद्योग संगठन मोरङले जनाएको छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका कार्यसमिति सदस्य सिर्जन प्याकुरेलले उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, सीपयुक्त जनशक्तिको पहिचान तथा रोजगारी र उद्यमशीलतालाई प्रभावकारी बनाउन सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
नेपाली युवा उद्यमी मञ्च झापाका अध्यक्ष गणेश पौडेलले उद्योग तथा व्यवसाय क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै राष्ट्रिय दक्षता मापदण्डअनुसार तयार भएका जनशक्तिलाई प्राथमिकता दिन सके उद्योग क्षेत्र थप प्रतिस्पर्धी र व्यवस्थित बन्ने धारणा राखे ।
त्यसैगरी, एनभीक्यूएस परियोजनाका प्रदेश प्रबन्धक सुबास घिमिरेले पूर्व सिकाइको मान्यता विधिले लामो समयदेखि विभिन्न पेशामा कार्यरत व्यक्तिहरूको सीपलाई औपचारिक मान्यता प्रदान गर्ने बताए ।
उनले राष्ट्रिय दक्षता मापदण्डले उद्योग क्षेत्रलाई आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको प्रयोगले उत्पादनशीलता वृद्धि हुने बताउँदै उद्योगी व्यवसायीहरूले अब दक्षता प्रमाणित जनशक्तिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाहरूले आगामी दिनमा विभिन्न पेशामा राष्ट्रिय दक्षता मापदण्डअनुसार तयार हुने दक्ष जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिने विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved