Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरूरी छ’ : मन्त्री यादव

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

धरान । खानेपानी मन्त्री प्रदीप यादवले धरानको खानेपानी सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् । 

शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानी सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिए ।

मन्त्री यादवले खानेपानी सम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको खाँचो औंल्याए ।

प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहा“ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दुःखद् हो, उनले भने । 

मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा  चार करोड बजेट विनियोजन गरिसकेको छ । 

धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ, उनले भने, समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौं ।

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । 

मन्त्री यादवले खानेपानीजस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए ।

View : 307

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved