Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले केन्द्रीय बैठक : ओलीको विपक्षमा खुल्दै कोशीका नेता

गुरु बराल, हिक्मत कार्की, दीपक कार्की, लक्ष्मी गौतम लगायतका नेताहरु भने ओलीको विकल्प खोज्न नहुने पक्षमा उभिएका छन् ।
उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

विराटनगर । जेनजी आन्दोलनबाट सत्ताच्यूत बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेतृत्व त्याग्न दबाब बढाएका छन् । सरकार र पार्टी दुवै सत्तामा छँदा उनीविरुद्ध बोल्ने आँट नगरेका एमाले नेताहरु जेनजी आन्दोलनपछि भने मुखर बन्न थालेका छन् । 

काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार कोशीका धेरै केन्द्रीय सदस्यहरुले बोलेका छन् । बोल्नेहरुमध्ये बहुसंख्यक नेताहरुले ओलीलाई बोकेर अब एमाले अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका छन् । 

धेरैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने मत पनि प्रकट गरेका छन् । यसअघि विनोद ढकाल, युवराज बास्कोटा, रामलाल साह लगायतका नेताहरु खुलेका थिए । यस पटकदेखि भने अरु नेताहरु पनि थपिएका छन्, जसले ओलीकै सामु उनीबाट अब पार्टी अघि बढ्न नसक्ने बताएका छन् । 

यसअघि सचिवालय बैठकमा सचिव योगेश भट्टराईले ओलीले अध्यक्ष छाड्नुपर्ने मत राखिसकेका छन् । उपाध्यक्ष गुरु बराल, कोशीका मुख्यमन्त्री हिक्मत कार्की उनका दाजु दीपक कार्की, लक्ष्मी गौतम लगायतका नेताहरु भने ओलीको विकल्प खोज्न नहुने भन्ने अभियानमा छन् । इटहरीकी पूर्वउपमयेर गौतमले त ओलीको राजीनामा माग्नेहरुले पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् । सुनसरीकै नेता भीम आचार्य मौनता साधेर बसेका छन् ।

तर, बिहीबार बोल्ने नेताहरु रामलाल साह, युवराज बास्कोटा, रविन कोइरालासहितका कोशी एमालेका प्रभावशाली नेताहरुले ओलीको राजीनामा मागेका छन् ।

मोरङका नेता रामलाल साहले त ओलीलाई घुमाउरो रुपमा ‘मान्छे भनेर मान्न नसकिने’ नै बताइदिए । लेनिनको भनाइ उद्धृत गर्दै उनले भने ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मानिस होइन ।’  उनले समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए ।

नेपालमा हस्तक्षेप गर्ने वैदेशिक शक्ति किटान गर्नुपर्ने धारणा पनि उनको थियो । ‘वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौं र सोधौं । होइन भने समस्याको समाधान बाहिर नखोजौं’, उनले भने । 

केन्द्रीय सदस्य रविन कोइरालाले अध्यक्ष केपी शर्मा ओलीबाट कांग्रेस सभापति देउवाको भन्दा उच्चस्तरको सम्बोधन अपेक्षा गरेको तर आफ्ना गल्तीप्रति सामान्य ‘रियलाइजेसन’ समेत नदेखिएको बताएका छन् । 

जेनजी आन्दोलनपछि कांग्रेस सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । अब आफू पार्टी नेतृत्वमा नरहने संकेत गरेका छन् ।  ओलीकै गृहजिल्ला झापाका नेता कोइरालाले देउवाको प्रसंग निकालेर ओलीलाई नेतृत्वबाट बिदा लिन भनेका छन् । 

कोइरालाले भने ‘सहकर्मी दल नेपाली कांग्रेसको सभापतिले भन्दा उच्चस्तरको सम्बोधन मेरो पार्टीको अध्यक्षबाट बैठकमा हुनेछ भन्ने अपेक्षा थियो, तर त्यो आउन सकेन । यत्रो घटना भएर देश तहसनहस हु“दा पनि प्रतिवेदनमा सामान्य आत्मालोचित भएको महसुस गर्नुपथ्र्यो ।  त्यो भएन । यो बिडम्बनापूर्ण छ ।’

कोइरालाले महाधिवेशनको मिति तय भए पनि अब अध्यक्षले अभिभावकीय भूमिका मात्रै निर्वाह गरेर संयोजक अरूलाई तोकेर अघि बढ्नुपर्ने माग गरे । पार्टीले निर्वाचनमा भाग लिनुपर्ने, भाग्न नमिल्ने बताउँदै कोइरालाले थपे, ‘अब निर्वाचनमा जाँदा संविधान संशोधनको स्पष्ट एजेन्डा लिएर जानुपर्छ । संविधान संशोधनका मुख्य विषयहरू जेनजी आन्दोलनमा उठेका भ्रष्टाचारमुक्त देश, शासकीय प्रणालीमा सुधार र सुशासनका मुद्दाहरू हुनुपर्छ । यी कुराहरू आगामी संसदबाट संशोधन गर्ने प्रतिवद्धतासहित निर्वाचनमा जानुपर्छ ।’

अध्यक्ष ओलीले सुदृढ पार्टी एकताको प्रस्ताव गरेको र त्यसको सुरुआत विद्या भण्डारीको सदस्यता नवीकरण गरेर थाल्नुपर्ने कोइरालाको भनाइ थियो । 

अध्यक्ष ओलीले जेनजी आन्दोलनकारीलाई लल्कारेको विषयप्रति केन्द्रीय सदस्यहरुले आपत्तिसमेत  जनाएका छन् । 

केन्द्रीय सदस्य युवराज बास्कोटाले जेनजीलाई गाली गर्ने विषयप्रति आपत्ति जनाएका हुन् । आफैं प्रधानमन्त्री भएका बेला उठेको यो विद्रोहकै कारण ओली सत्ताच्यूत भएका थिए । त्यसपछि उनले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति, कलर रिभोलुसन लगायतका संज्ञा दिंदै आएका छन् । 

‘जेनजी कुनै राजनीतिक दल र संगठित संघसंस्था होइन, केही सामयिक विषयवस्तुलाई लिएर उठ्यो, सडकमा उत्रियो । यो एउटा पुस्ताको चाहना हो’ मोरङका केन्द्रीय सदस्य बास्कोटाले भने, ‘यद्यपि यो नाममा हिंसा भयो, तोडफोड भयो र आगजनी भयो । यसको एउटा पीडित म स्वयं हो । यति हुँदाहुँदै पनि पुस्तालाई गाली होइन, तिनले उठाउँदै आएका सामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनु हुँदैन । यो हाम्रो निर्णायक भोट बैंक पनि हो ।’

सुशासन प्रत्याभूतिको अभाव, नियमन र नियन्त्रणबाहिर देखिएको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको कुरा आफ्नै नेतृत्व भएका समयमा किन उठ्यो भन्ने विषय एमालेले खोज्नुपर्ने उनको भनाइ थियो । 

‘यसको राजनीतिक उपचार खोजी गर्नुपर्छ र साझा संकल्प अघि सार्नुपर्छ’ बास्कोटाले भने ।

उनले थपे ‘पार्टीमा बृहत एकता, खँदिलो एकता र साँच्चिकै एकमना एकता चाहने हो भने केन्द्रीय कमिटीको पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढंगले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ । हिजो लिएको निर्णयमा पुनः बिचार गरिनुपर्छ ।’

मंसिरमा हुने पार्टीको ११ औं महाधिवेशनलाई अलिक पर सारेर भए पनि यस सम्बन्धी सूक्ष्म तयारीमा लाग्नुपर्ने भन्दै उनले भने, ‘नेतृत्वको कौशलता भनेको उत्तराधिकारी निर्माण गर्नु पनि हो । महाधिवेशनको मञ्चमा पुग्दा स्वीकार्य नेतृत्वलाई अघि सारेर अध्यक्ष कमरेड अभिभावक भएर बस्नु वाञ्छनीय हुन्छ ।’

अर्का  केन्द्रीय सदस्य परशुराम अधिकारीले भदौ २४ गतेको जनेजी पुस्ता आन्दोलनमा पार्टीका कार्यकर्ताहरूको पनि संलग्नता रहेकाले अनुसन्धान हुनुपर्ने बताएका छन् । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर पार्टीको काम गर्न दिनुपर्ने उनले बताए । 

उनले नेकपा हुँदै एमालेमा आएकाहरूलाई जिम्मेवारी दिनुपर्ने कुरा पनि राखेका थिए । भोजपुरका अधिकारी माओवादीबाट एमालेमा आएका नेता हुन् ।

View : 500

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved