Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिक बौद्धिक मञ्चको साधारणसभा

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । ज्येष्ठ नागरिक बौद्धिक मञ्च विराटनगरले आफ्नो दोस्रो वार्षिक साधारणसभा बुधबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु-याएका विशिष्ट बौद्धिक व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।

साधारणसभाको अवसरमा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, वरिष्ठ शिक्षाविद् प्राडा मीनराज ढकाल र प्राडा खगेन्द्र आचार्यलाई रुद्राक्ष माला र सम्मानपत्रद्वारा सम्मानित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले ज्येष्ठ नागरिकहरू ज्ञान र अनुभवका खानी भएको बताए । ‘ज्येष्ठ नागरिकहरूको बौद्धिक अनुभवलाई राज्यले नीति निर्माणमा उपयोग गर्नुपर्छ,’  उनले भने, ‘बौद्धिक मञ्चले ज्येष्ठ  बौद्धिक नागरिकहरूलाई एकै ठाउँमा ल्याएर सामाजिक सक्रियता बढाउनु सराहनीय कार्य हो ।’

संस्थाका अध्यक्ष सतिशकुमार कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । संस्थाका उपाध्यक्ष सुरबहादुर श्रेष्ठ र सचिव हरिप्रसाद अधिकारीले संस्थाले आगामी दिनमा ज्येष्ठ सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको पहिचान गर्ने, नियमित भेटघाट कार्यक्रम आयोजना गर्ने र उनीहरूको स्वास्थ्य तथा हकहितमा केन्द्रित भएर काम गर्ने लक्ष्य राखेको जानकारी दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एलिट क्लबका सचिव यज्ञ शर्मा र ब्रह्मज्ञानी विश्रामालयका संरक्षक मणि अज्र्यालले ज्येष्ठ नागरिकहरूका लागि यस्ता मञ्चहरूले मानसिक स्फूर्ति र सामाजिक सम्बन्ध विस्तारमा ठूलो सहयोग पु-याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा विराटनगरका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ज्येष्ठ नागरिकहरूको उपस्थिति थियो । सहभागीहरूले जीवनको उत्तरार्धमा पनि बौद्धिक विमर्शमा संलग्न हुन पाउँदा उत्साह व्यक्त गरेका थिए ।

View : 364

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved