विराटनगर । सहयोग गर्ने बहानामा हटिया, अस्पताल, मेला पर्व र भिड हुने ठाउँमा गएर आधा दर्जन बढी मानिसहरूलाई ठगी गर्ने एउटा गिरोह प्रहरीको फन्दामा परेको छ ।
भिडभाडमा गएर सोझा सिधा, ज्येष्ठ नागरिक र गरगहना लगाएका मानिसलाई प्रलोभनमा पार्ने, नक्कली सुन देखाएर सक्कली सुन र नगद ठगी गर्ने ६ जनाको गिरोहलाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको हो ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिकास्थित बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, झापाकै कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको दार्जेलिङ जिल्लाको नक्सलवारी नवकान्त जोतर शान्ति नगरस्थित एसियन हाइवेको आकाशे पुलमुनि बस्ने ५१ वर्षीय नारायण गुरुङ, नक्सलवारीकै दयाराम जोत बस्ने ३४ वर्षीय संजय शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले उनीहरूलाई सुनसरी प्रहरीको समेत सहयोगमा इटहरीसहित विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । उक्त गिरोहले गत कात्तिक २७ मा उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल आएका संखुवासभाको पाँचखपन गाउँपालिका–५ खपनटोलका कृष्णबहादुर तामाङलाई दाजुभाइको नाता लगाएर सहयोग गर्ने बहानामा एक लाख १० हजार रुपैयाँ चोरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक चिमरियाले बताए ।
‘विराट टिचिङ अस्पतालको सीसीटीभी फुटेजको अध्ययन गर्दा मंगोलियन अनुहारका व्यक्तिहरू शंकास्पद रुपमा देखिएका थिए, उनीहरूको खोजतलास गर्दा अशोक तामाङसहितको गिरोहको पहिचान गरिएको हो’ प्रहरी उपरीक्षक चिमरियाले भने, ‘उनीहरूले हटिया, अस्पताल, मेला र भिडभाड हुने ठाउँमा गएर सोझा व्यक्तिलाई केन्द्रित गरेर प्रलोभनमा पार्ने र सुनजस्तो देखिने पदार्थलाई सुन भएको भन्दै मानिसहरूबाट सक्कली सुन र नगद पैसा ठगी गर्ने गरेका रहेछन् ।’
प्रहरीका अनुसार उक्त गिरोहले सीमित समयका लागि होटलमा बस्ने, होटल परिवर्तन गरिरहने, गलत नाम ठेगाना बताउने, अरुको नामको मोबाइल सिमहरू प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
सो गिरोहले झापा, मोरङ र सुनसरीका गरी झण्डै एक दर्जन मानिसहरूलाई ठगी गरिसकेको जनाइएको छ ।
ठगिनेहरूमा श्रीमतीको उपचारका लागि विराट टिचिङ आएका पाँचखपनका कृष्णबहादुर तामाङसहित मोरङ बेलबारीकी राममाया कार्की, जेनी लिम्बू, पथरीशनिश्चरेकी नाम नखुलेकी एक महिला, सुनसरीको इटहरीका टेकबहादुर गुरुङ, रामधुनी नगरपालिका–५ की भीमकुमारी गुरुङ, इटहरी–९ की शर्मिला श्रेष्ठ, इटहरी–१७ की नन्दकुमारी बस्नेत र धरानका देवीबहादुर राई छन् ।
त्यस्तै हाल झापाको विर्तामोड बस्दै आएका मिक्लाजुङ–३ का मकरध्वज कुरुङवाङ समेत सोही गिरोहबाट ठगिएको जनाइएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट सुनको जस्तो देखिने तिलहरी ४, हार जस्तो देखिने २, मंगलसुत्र २, सुनको जस्तो देखिने टिल (बिस्कुट) ८, चन्द्रमा १, कानमा लगाउने रिङ १, बेरुवा औंठी १, लकेट भएको सिक्री १, कानको झुम्का टप १, ब्रासलेट १, औंठी १०, चाँदीको पाउजु ४, ब्रासलेट १ लगायतका गरगहना, नेपाली २ लाख ७२ हजार ४३० रुपैयाँ र भारु २ हजार ६३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू विरुद्ध मुलुकी अपराध संहिताको दफा २४९ अनुसार ठगी गर्न नहुने कसुरमा सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाइएको छ ।
साथै सोमबारदेखि नै थप अनुसन्धान पनि अघि बढाइएको प्रहरीको भनाइ छ ।
View : 111
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved