Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

राजाका नाममा अपुरो जेब्राक्रस

उद्‌घोष सम्वाददाता
९ माघ २०८०, मङ्गलवार

विराटनगर । नेपालको एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहका नाममा उनका अनुयायीले अपुरो काम गरेर विराटनगरको सडकमा जनतालाई सोच्न बाध्य बनाएका छन् ।
पृथ्वी जयन्तीका अवसरमा एक समूहले विराटनगर फ्रवेशद्वार स्थित कोशी राजमार्गमा जेब्राक्रस बनाएका थिए ।

मेटिएको जेब्रात्रसलाई नयांँपन दिन एक समूहले मानिस भेला गरेर प्रचार गरेका थिए । यसले सामाजिक सञ्जालमा पनि ठाउँ पाएको थियो । तर, जेब्राक्रस बनाएको १० दिन बित्दापनि पूरा हुन सकेको छैन ।

विराटनगर ३ र ४ को बीचमा पर्ने ढाट क्षेत्रको सडक पार गर्न स्थानीय एक समूहले पृथ्वी जयन्तीका दिन सडक पार गर्ने ठाउँमा सेतो पोतेको थियो । सडकको पूर्वपट्टि ६ र पश्चिममा ६ वटा स्टेप बनाइएको छ । बाँकी राजमार्गको मध्य भागमा १२ वटा स्टेप बनाउन बाँकी रहेको छ । राजाका नाममा अधुरो काम भएको जनाउंँदै स्थानीयले बिरोध गरेका छन् ।

विराटनगर महानगर प्रवेश गर्ने मुख्यद्वार भएको स्थानमा स्थानीय राजधानी युवा क्लवले शौन्दर्यीकरण गर्ने तयारी गरेकै अवस्थामा पृथ्वी जयन्तीका नाममा अपुरो काम गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष राजु ढकालले सडकमा जेब्राक्रससहित नेपालको राष्ट्रिय झण्डा १५ स्थानमा राख्ने तयारी भएकै बेला अरुले अधकल्चो काम गरेको बताए ।

‘क्लबले सडकको वारपार जेब्राक्रस र दुबैतर्फ झण्डा लगाउन सबै तयारी पूरा गरेको थियो, त्यही काम अपुरो गरेर गएछन्, कि पूरा गर्नु कि गर्दै नगर्नु’ ढकालले भने । उनका अनुृसार क्लवले १२ वटा ठूला ड्राममा नेपालका झण्डा र ३ ठाउँमा राजधानी युवा क्लवका झण्डा लगाउने तयारी पूरा भएको अवस्थामा अपुरो काम कसैले गरेको हो ।

सो क्षेत्रका ट्राफिक प्रहरी प्रमुख नायव निरीक्षक डम्बर दियालीले सडकमा जेब्राक्रस बनेको विषय राम्रो भए पनि कस्ले बनाएको भन्ने आफूलाई जानकारी नभएको बताए । मुख्य सडकमा मानिसलाई पैदल पार गर्न सडक बिभागले नै सेतो पोतेर हिंड्ने ठाउँ बनाउँछ भने भित्री सडकमा स्थानीय सरकारले चासो लिएर सो काम गर्ने गर्छ ।

मोरङ ट्राफिकका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार, सडकमा स्थानीय संघ संस्था वा विद्यालयहरुको आवश्यक्ता अनुसार पनि जेब्राक्रस बनाउने गरेका छन् । जेब्राक्रसको जिम्मा ट्राफिक प्रहरीको नभए पनि सडक सुरक्षामा बढी निगरानी हुने भएकाले हरेक क्षेत्रको सडकको समस्यामा ट्राफिक प्रहरीले ध्यान दिने गर्छ ।

View : 155

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved