काठमाडौँ, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् .
प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराए ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उनीहरुलाई आयोगमा नियुक्त गरेको हो । रासस
View : 34
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved