Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

रैब पर्व मनाउँदै थारु समुदाय

उद्‌घोष संवाददाता
१७ भदौ २०८१, सोमवार

Advertisement

उदयपुर, १७ भदौ । यहाँको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् ।

सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारु समुदायले रैब पर्व मनाएका हुन् ।

थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारु समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारु दाजुभाईहरुले बिहान र बेलुकी नुन नखाने र दही, च्युरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको उनले बताए । बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पित्रको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।

रोपाइँको समयमा काम गर्दा मरेका निर्दोष किट, पतङ्गको सम्झना गर्दै पाप नलागोस् भनेर बिहान बेलुकी नुन नखाई फलफूल, दही, चिउरा खाएर आइतबार बस्ने प्रचलननै रैब पर्व रहेको गाईघाटका थारु, समुदायका अगुवा देबीलाल चौधरी बताउछन् ।

बाजे, पुर्खाको पालादेखि धान रोपाइँ सकेपछि भदौको कुनै एक आइतबारे रैब पुजा गर्ने प्रचलन सुरु भएको कारण अझै वर्सेनी भदौको एक आइतबार रैब पर्व मनाउने गरेको त्रियुगा क्षेत्रका थारु समुदायका अगुवाहरु बताउँछन् ।  रासस

View : 599

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved