Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सेयर बजारलाई मौद्रिक नीतिको ऊर्जा : दोहोरो अंकको बढोत्तरी, लगानीकर्ता लघुवित्त र बैंकमा आकर्षित

उद्‌घोष संवाददाता
२९ असार २०८२, आइतवार

काठमाडौं । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेयताको पहिलो कारोबार दिनमा सेयर बजारमा हरियाली छ । आइतबार बजार सूचकसँगै कारोबार रकममा उल्लेख्य बढोत्तरी छ ।

नेप्से २९ अंकले बढेर २७६०.८० विन्दुमा रहँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

लामो समयपछि बजार फराकिलो अन्तरले बढेको हो । लगानीकर्ताको आकर्षण लघुवित्त र वाणिज्य बैंकमा बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयरधितो कर्जाको सीमा बढाएको घोषणा गरेको थियो ।

मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जामा १५ करोड रुपैयाँको सीमालाई बढाएर २५ करोड रुपैयाँ कायम गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको व्यवसाय तथा नाफा बढ्ने लचिलो व्यवस्थाहरु गरिएको छ ।

साथै लघुवित्त संस्थालाई १५ प्रतिशत लाभांश बाँडपाउने सीमा पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको हो ।

जलविद्युत, लगानी, निर्जीवन बीमा, व्यापार र अन्यबाहेक ८ समूहका सूचक बढेका छन् । लघुवित्त ३.५० र वाणिज्य बैंक ३.३७ प्रतिशतले बढेका छन् ।

फाइनान्स १.८७, विकास बैंक १.४७ र म्युचुअल फण्ड १.०८ प्रतिशतले बढेको छ ।

९० कम्पनीको सेयरमूल्य घट्दा हिमालयन हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.९३ प्रतिशतले नोक्सानमा रहे। यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य ७.३४ प्रतिशतले घटेको छ ।

१५८ कम्पनीको सेयरमूल्य बढ्दा एनआइसी एसिया बैंकका लगानीकर्ता उच्च फाइदामा रहे । उक्त बैंकको सेयरमूल्यमा ९.९९ प्रतिशत अर्थात् सर्किटस्तरको बढोत्तरी रह्यो ।

३७ करोड १४ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको उक्त बैंक सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो नम्बरमा आएको छ ।

यस्तै खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा पनि ९.९९ प्रतिशतको बढोत्तरी छ । जीवन विकास लघुवित्त ९.६१ र नेस्डो समृद्ध लघुवित्त ७.३० प्रतिशतले बढेको छ ।

बुटवल पावर कम्पनी कारोबारमा दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख, सानीमा बैंकको २५ करोड १८ लाख र सीइडीबी होल्डिङ्सको २४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुग्दा ९ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

View : 328

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved