सोलुखुम्बु, १ भदौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान नरोकिएको जनाइएको छ ।
शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको बहाव केही कम भए पनि कटान भने जारी रहेको छ ।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्य चौकी र विद्यालय बगाएको छ ।
बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।
उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको जनाएको छ । ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।
बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।
खुम्बु क्षेत्रबाट हिमताल फुटेर बाढी आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।
कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज घटनास्थलमा पुग्ने सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
यसैबीच थामे बाढीमा बेपत्ता भएका बेपत्ता भएका व्यक्तिको पहिचान खुलेको छ । सोलु प्रहरीका अनुसार बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-५ का निमा नुरु टुडु शेर्पा रहेको जनाइएको छ । कान कम सुन्ने भएका कारण उनी बाढीमा परेर वेपत्ता भएको हुनसक्ने जनाइएको छ ।
View : 80
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved