Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

दुई देशीय व्यापारबारे इजरायली राजदूत र उद्योग संगठनबीच छलफल

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । नेपाल र इजरायलबीचको द्विपक्षीय ब्यापार विस्तार, दुवै देशका निजी क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य व्यवसायिक सम्भावनाबारे उद्योग संगठन मोरङ र नेपालका लागि इजरायली राजदूत श्मूलिक एरिक वासबीच बिहीबार छलफल भएको छ ।

संगठनको कार्यालयमा आयोजित भेटघाटपछिको छलफलमा अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको व्यापार तथा औद्योगिक क्षेत्रहरूमा आपसी सहकार्यको माध्यमबाट नयाँ सम्भावना पहिल्याउनु पर्ने आवश्यकता औंल्याए । 

उनले एकअर्काका परस्पर र पूरक क्षमताहरू पहिचान गरी व्यवसायिक साझेदारीका सम्भावना खोज्न सकिने बताए । यसो गर्न सकिए नेपाली र इजरायली उद्यमीहरूबीच लगानी तथा संयुक्त उद्यमको अनुकूल वातावरण तयार गर्न सकिनेमा अध्यक्ष राठीले जोड दिए ।

इजरायलले प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै अध्यक्ष राठीले नेपालले पनि कृषिप्रधान देश भएकाले हरितगृह प्रविधि, बाली व्यवस्थापन एवं प्रशोधन जस्ता क्षेत्रमा इजरायलबाट लाभ लिन सक्नुपर्ने बताए । 

भेटपछि इजरायली राजदूत वासले व्यापार व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्रै नभई सामाजिक रुपान्तरणका लागि समेत महत्वपूर्ण आधार भएको बताए । 

उनले नेपाल र इजरायलबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउनु पर्ने बताए । व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको आर्थिक तथा उत्पादन क्षमताबारे इजरायल थप जान्न इच्छुक रहेको उल्लेख गर्दै राजदूत वासले नेपालबाट निर्यात गर्न सकिने सम्भावित वस्तुहरूका सम्वन्धमा थप अध्ययन गर्न आवश्यक रहेको धारणा राखे । 

त्यसका लागि दुवै देशका सम्बन्धित निकायहरूको सहकार्यमा छलफल अघि बढाउन सकिने जानकारी दिंदै यसका माध्यमबाट नेपालका उद्योगी व्यवसायिक क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रममा संगठनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन समितिका संयोजक पारस लुनियाले इजरायल र नेपालबीच दशकौंदेखि सौहार्दपूर्ण र बलियो कूटनीतिक सम्बन्ध रहेको बताउँदै दुवै देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने धारणा राखे । 

नेपाल र इजरायलबीच बार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको दुई पक्षीय ब्यापार हुँदै आएको बताए । 

उनले व्यापार सन्तुलन अत्यधिक रूपमा इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालबाट इजरायलतर्फ गलैंचा, हस्तकलाका सामग्रीहरू, छालाजन्य वस्तुहरू निर्यात हुने गरेको र इजरायलबाट प्याक गरिएको औषधीहरू, प्रसारण उपकरणहरू, दूरसञ्चार उपकरणहरू र कृषि उपकरणहरू नेपालले आयात गर्दै आएको बताए ।

आगामी दिनमा कृषि तथा कृषि प्रविधि, डिप सिंचाइ प्रणाली, कृषि क्षेत्रमा विशेषज्ञता र सूचना प्रविधिका साथै कागज, डाइपर, स्यानिटरी प्याड उत्पादन, वुड फार्मिङ जस्ता क्षेत्र सहकार्यका लागि सम्भावनायुक्त क्षेत्र भएको लुनियाले बताए ।
संगठनका उपाध्यक्ष्ँ विपिन कावराले नेपाल र इजरायलबीच सिधा हवाई कार्गो सञ्चालन गरी ब्यापार विस्तारलाई बढावा दिन आवश्यक पहल गर्न अनुरोध गरेका थिए । 

त्यसैगरी संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले कृषिको आधुनिकीकरणमा इजरायलले गरेको विकासलाई प्रविधि हस्तान्तरणका माध्यमबाट नेपाललाई पनि सहयोग पुर्याउन आग्रह गरेका थिए ।

उद्योगीहरूले इजरायलमा साढे चार हजार बढी नेपाली केयरगिभरहरू कार्यरत रहेको र दुवै देशको अर्थतन्त्रमा योगदान पु¥याइरहेको बताएका थिए । 

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायलले शिक्षा, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र उत्पादन क्षेत्रमा छात्रवृत्ति तथा प्राविधिक तालिम प्रदान गर्दै आएको स्मरण गर्दै लामो समयदेखि बेपत्ता भएका नेपाली नागरिक विपिन जोशीको खोजी र रिहाईका लागि पहल गर्न इजरायली राजदूत समक्ष आग्रह गरेका थिए ।

View : 284

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved