काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै पुग्ने सम्भावना थप कमजोर बनेको छ । लगातार दोस्रो खेलमा समान १ सय ५७ रनमै समेटिएको नेपाल ब्याटिङ र बलिङ दुवै विभागमा प्रभावहीन देखिएको हो ।
बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमा समेटियो ।
कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए। तर कुनै पनि ब्याटरले जिम्मेवारीपूर्ण र लामो इनिङ्स खेल्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन ।
नेपालका ब्याटरले सुरुआत पाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा टोली नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा परेको थियो । मध्यमक्रमले पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालको ब्याटिङ लाइनअप फेरि एकपटक धराशायी बन्यो ।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १ सय ५८ रनको लक्ष्य ४४.१ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो ।
कप्तान स्कट इडवार्डसले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोर्याए । नेपाली बलरले सुरुआती सफलता दिलाउन नसक्दा डच टोलीले खेलमाथि नियन्त्रण कायम राख्यो ।
स्पिन र तीव्र गतिका दुवै बलरले अपेक्षाअनुसार प्रभाव छोड्न सकेनन् भने फिल्डिङमा पनि केही कमजोरी देखियो ।
नेपालले यसअघि मंगलबार नामिबियाविरुद्धको खेलमा पनि १ सय ५७ रनमै समेटिँदै सहज हार बेहोरेको थियो । उक्त खेलमा नामिबियाले १ सय ५८ रनको लक्ष्य ३७.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।
कप्तान जान फ्राइलिंकले अविजित ७८ रन बनाएका थिए भने माइकल भान लिंगनले ५१ रनको योगदान दिएका थिए ।
लगातार कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल लिग–२ को अंक तालिकामा पछि पर्दै गएको छ ।
३० खेलबाट २४ अंक जोडेको नेपाल आठ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा कायम छ । २९ खेलबाट ३४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।
यस हारसँगै नेपालले शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै स्थान बनाउने सम्भावना थप कठिन बनेको छ ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved