Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्याकुरेलको अध्यक्षतामा कोशी गल्फ संघ गठन

धरान गल्फ कोर्समा बिहीबारदेखि ओपन गल्फ टुर्नामेन्ट हुँदै
उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

विराटनगर । विराटनगरका उद्योगी सुयश प्याकुरेलको अध्यक्षतामा कोशी प्रदेश गल्फ संघ गठन भएको छ । नौ सदस्यीय समिति गठन भएसँगै बिहीबारदेखि धरान गल्फ कोर्समा ओपन गल्फ टुर्नामेन्ट हुन लागेको हो ।

संघको उपाध्यक्षमा भरत तामाङ, सचिवमा बलराम राई, कोषाध्यक्ष सन्तोष कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा राजेन राई, हरि बहादुर राई, सुमित्रा लिम्बु, राजिव घिमिरे र प्रदीपकुमार सारडा रहेका छन् । 

बिहीबार गल्फ संघको समिति निर्माण र टुर्नामेन्ट आयोजना सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धरानमा संस्थागत रुपमा गल्फ खेलाडीहरुलाई एउटै छातामुनि समावेश गर्दै खेल प्रवर्द्धनको काम सुरु गरिएको जनाइएको छ ।

साथै गल्फ खेलसम्बन्धि तालिमहरु उपलब्ध गराउँदै सक्षम, सबल र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग गर्ने जनाइएको छ । मंगलबार भएको भेलाले प्याकुरेलको अध्यक्षतामा समिति निर्माण गरेको हो । 

धरानमा रहेको धरान गल्फ कोर्स कोशी प्रदेशकै एकमात्र गल्फ कोर्स हो । आगामी दिनमा सवैको साथ सहयोगबाट गल्फ खेल र गल्फ कोर्सलाई अझ व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष प्याकुरेलले बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय स्पर्धाहरुमा पुर्वकै गल्फ खेलाडीहरुको बर्चश्व रहने गरेकोले धरानमा गल्फ खेलको संस्थागत विकासका लागि संघ नै निर्माण गरेर अघि बढेको उनले जानकारी दिए ।

‘नेपालका गल्फ खेलाडीहरुले भारत लगायतका अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा समेत राम्रो खेल्दै आएका छन्, जहाँ अधिकांश धरानमै व्यवसायिक खेलाडीहरु रहेका छन्’ उनले भने, ‘यो खेलप्रति नयाँ जेनेरेशन उत्साहित भएर आएकोले आगामी दिनमा संघमार्फत खेल प्रवर्द्धन र गल्फ कोर्सको प्रवर्द्धनका काम हुनेछन् ।’

धरान गल्फ कोर्सबाट उत्पादन भएका गल्फ खेलाडिहरुले अन्तराष्ट्रिय जगतमा गल्फ खेल सम्बन्धि ज्ञानको आधारमा एसिया र युरोपका बिभिन्न देशहरुमा नाम कमाएको उनले दाबी गरे । प्याकुरेलले नेपालको नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले बिगत दुई बर्षदेखि भारतको बिभिन्न ठाउँमा सञ्चालन हुँदै आएको इण्डियन प्रोफेसनल गल्फ टुरमा सहभागी भएर नेपाली गल्फरहरुको प्रवर्द्वन गर्दै आएको जनाइएको छ । त्यसैगरी प्रोफेसनल गल्फर निरज तामाङ पनि भारतमा भइरहेका खेलहरुमा सहभागी हुँदै आएका छन् ।

नवगठित कार्यसमितिले धरान गल्फ कोर्सको प्रवद्र्धनकै लागि बिहीबारदेखि ‘बाह्रसिङ्गे ओपन गल्फ टुर्नामेन्ट २०८०’ संचालन गर्न लागेको जनाइएको छ । उक्त प्रतियोगिता तीन दिन हुनेछ । प्रतियोगितामा स्थानीय र बाहिरका गरी लगभग १० जना प्रोफेसनल र ७० जना एमेच्युअर गल्फरहरु सहभागी हुने जनाइएको छ ।

प्रतियोगितामा प्रोफेसनल गल्फर तर्फ ८ र अमेच्यअर गल्फरहरुमा २४ वटा पुरस्कार रहेको जनाइएको छ । प्रतियोगिताका विजेताहरुलाई शनिबार इटहरीस्थित वेष्टेन्ड सोल्टी होटलमा पुरस्कार वितरण समारोह तय गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

View : 319

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved