Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा एमालेसँगको सहकार्य नतोड्न कांग्रेसको लविइङ

उद्‌घोष संवाददाता
३ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । प्रदेशमा अस्थिरता निम्त्याउने गरी तत्कालै एमालेसँगको गठबन्धन नतोड्न आग्रह गर्दै नेपाली कांग्रेस कोशीका नेताहरूले केन्द्रलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

सुदुरपश्चिमको समस्याका कारण कोशीमा अस्थिरता निम्त्याउने कामले ठीक परिणाम नदिने भन्दै कोशीका नेताहरू केन्द्रलाई कन्भिन्स गर्न लागेका छन् । 

‘केन्द्रको निर्देशनबमोजिम सहकार्य तोड्ने अनौपचारिक निर्णय हामीले गरेका थियौं,’ कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले भने ‘तर, अस्थिरताले दिने सन्देश राम्रो नहुने र एमालेसँगकै सहकार्यमा पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आउने भएपछि यहाँ चाहिँ सहकार्य नतोडौं भनेर हामीले केन्द्रलाई आग्रह गरिरहेका छौं ।’ 

दलका नेता उद्धव थापा, उपनेता कार्की, प्रमुख सचेतक गोपाल तामाङ, केन्द्रीय सदस्य अमृत अर्यालसहितका नेताहरूले केन्द्रमा यो लबिइङ गरिरहेको नेताहरुले बताएका छन् ।

केन्द्रको निर्देशनअनुसार कोशीमा एमालेसँगको सत्ता सहकार्य तोड्ने अनौपचारिक निर्णयमा पुगेका कांग्रेस कोशीका नेताहरू अहिले प्रदेशको विशिष्ट राजनीतिक परिस्थितिका कारण पर्ख र हेरको रणनीतिमा छन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रको निर्देशन पालना गरिने तर कोशीको धरातल फरक रहेको बताए ।

कांग्रेसबाट कोशी सरकारमा  पर्यटन, वन तथा वातावरण मन्त्री रहेका भीम पराजुलीले कोशीको विशिष्ट संवैधानिक परिस्थितिका कारण तत्काल राजीनामा दिने वा सरकार परिवर्तन गर्ने अवस्था नरहेको बताउँछन् ।

मन्त्री पराजुलीले बारम्बारको सरकार परिवर्तन र राजनीतिक अस्थिरताले प्रदेशको गरिमा घटाउनुका साथै संघीयताको औचित्यमाथि नै प्रश्न उठ्ने खतरा औंल्याए । केन्द्रमा कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने बताए पनि कोशीको हकमा भित्रै असहमति भने नरहेको उनले स्पष्ट पारे ।

कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेकाले यसको विघटनले प्रदेशलाई सिधै मध्यावधि निर्वाचनमा लैजाने जोखिम रहेको पराजुलीको तर्क छ ।

‘अरु प्रदेश र कोशीको संवैधानिक अवस्था फरक छ । यहाँको अस्थिरताले संवैधानिक संकट निम्त्याउन सक्छ । त्यसैले कोशीलाई अन्य प्रदेशको डालोमा राखेर हेर्नु हुँदैन,’ उनले थपे ।

नेपाली कांग्रेस संसदीय दलभित्र संस्थापन र इतर पक्षबीचको विवादका कारण निर्णय लिन ढिलाइ भएको भन्ने चर्चालाई मन्त्री पराजुलीले निराधार बताए । उनले कोशी प्रदेशमा कांग्रेस एक ढिक्का रहेको एमालेसँग पनि सौहार्द्रपूर्ण सम्बन्ध रहेको दाबी गरे । सहमति र सहकार्यको वातावरण बनेमा एमालेले कांग्रेसलाई नेतृत्व सुम्पिन समेत तयार रहेको बताउँदै उनले भने, ‘नेतृत्व तहले मुलुकको समग्र परिस्थिति र प्रदेशको भविष्य हेरेर परिपक्व निर्णय लिनेछ । हाम्रो लक्ष्य प्रदेशलाई अस्थिरताबाट जोगाउनु नै हो ।’

कांग्रेसले कोशी प्रदेशमा नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरे पनि तत्कालै मन्त्रीहरू फिर्ता गर्न भने कांग्रेस हच्केको थियो ।

यसअघि कोशी प्रदेशसहित देशका ६ वटा प्रदेशमा सत्ता साझेदारी गरिरहेका एमाले र कांग्रेसबीचको सहकार्य टुट्ने अवस्था आउनुमा साढे एक महिनादेखिको आन्तरिक विवाद मुख्य कारण रहेको छ । 

कांग्रेस नेताहरूले एमालेको द्वैध चरित्र र आफूहरूलाई पाखा लगाउने रणनीति बुझेपछि कांग्रेसले सबै प्रदेश सरकारबाट बाहिरिने र एमालेसँगको सहकार्य तोड्ने निर्णय लिएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष ओलीले कोशीमा कार्कीलाई विस्थापित गरी तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने र सुदूरपश्चिममा कांग्रेसकै इतर पक्षलाई नेतृत्व सुम्पिने गरी नयाँ राजनीतिक कार्ड फालेका थिए । जसलाई कांग्रेस नेतृत्वले प्रदेशको स्थिरता विरोधी कदम भन्दै स्वीकार गर्न इन्कार गरेको थियो ।

केन्द्रमा सम्बन्ध चिसिए पनि कोशीमा सरकारको नेतृत्व गरिरहेको दल एमालेले भने यहाँ कांग्रेससँगको सहकार्य तत्काल नटुट्ने विश्वास प्रकट गर्दै आएको छ ।

View : 146

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved