मोरङ व्यापार संघको नेतृत्व फेर्ने तयारी
विराटनगर । देशकै सबैभन्दा जेठो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको नेतृत्व फेर्ने तयारी शुरू भएको छ ।
आगामी चैत १६ गते हुने संघको ६७ औं साधारण सभाले अर्को कार्यसमितिको निर्वाचनको मिति तोक्ने हुँदा चुनावी तयारी शुरू भएको हो ।
नविन रिजाल नेतृत्वको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्वको तयारी शुरू भएको हो ।
मोरङ व्यापार संघमा उद्योग, वाणिज्य, वस्तुगत र शाखाहरू गरी झण्डै नौ सय जति सदस्यहरू रहेका छन् ।
संघमा रंगेली, इटहरा, पथरी, उर्लावारी, मधुमल्ला, लेटाङ, केराबारी, बेलबारी र विराटचोक गरी नौवटा शाखाहरू सदस्य छन् ।
बाँकी सदस्यहरूमध्ये कतिको नविकरण भयो र कति नयाँ थपिएका छन् ती सबैको छानविन गरेपछि मात्र सदस्य संख्या यकिन हुने अध्यक्ष नविन रिजालले बताए ।
वि.सं. २००८ सालमा स्थापित मोरङ व्यापार संघको ७२ वर्षको लामो इतिहास छ । मोरङ व्यापार संघको नेतृत्व प्राय सर्वसम्मत रूपमै चयन हुँदै आइरहेको छ ।
सर्वसम्मत रूपमा नेतृत्व चयन भएमा हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनुपम राठी अध्यक्ष हुने छन् ।
महासंघको विधान अनुसार पहिले १९ सदस्यीय कार्यसमिति सदस्यहरूको निर्वाचन भएर त्यसबाट पदाधिकारीहरूको निर्वाचन हुन्छ । कार्यसमिति गठन भएपछि कार्यसमिति सदस्यमा पछि दुई जना मनोनित गर्ने व्यवस्था छ ।
अनुपम राठी अध्यक्ष भए भने उनले तेस्रो पुस्ताको नेतृत्व गर्नेछन् । उनीभन्दा अघि उनका हजुरवा स्व. आशकरण राठी वि.सं. २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष भएका थिए ।
वि.सं. २०४९ सालमा आशकरणका जेठा छोरा नन्दकिशोर राठी अध्यक्ष भए भने नाति अनुपमले वि.सं. २०८१ सालबाट संघको नेतृत्व गर्दैछन् ।
संघको संस्थापक अध्यक्ष शोभाचन्द्र पटवारी हुन् । त्यसपछि दोस्रो अध्यक्ष गजाधर गोयन्काले तीन कार्यकाल संघको नेतृत्व लिएका थिए । उनी पछि कसैले पनि तीन पटक नेतृत्व लिने अवसर पाएका छैनन् ।
बाबु र छोरा नेतृत्वमा आउनेमा पं मेघराज शर्मा (२०३५ साल) र सुरेशकुमार शर्मा (२०४० साल) पनि हुन् । तीन पुस्ताले नेतृत्व गर्ने अवसर भने राठी परिवारले मात्र पाउँदैछन् ।
मोरङ मर्चेन्ट एसोशिएशन (मोरङ व्यापार संघ) को स्थापना हुँदा विराटनगरमा सीमित व्यापारीहरु मात्रै रहेका थिए । व्यापार व्यवसायको प्रकार र क्षेत्र पनि सीमित थियो ।
व्यापार व्यवसायको विविधिकरणसँगै व्यवसायको क्षेत्र पनि विस्तार हुँदै गयो र औधोगिक व्यापारिक संस्थाहरू पनि थपिदैं गएका छन् ।
अहिले विराटनगरमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघका साथै प्रदेशस्तरका नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ क्रियाशिल रहेका छन् ।
View : 354
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved