Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

मोरङ ४ : गठबन्धन नहुँदा वास्तविक परीक्षामा उम्मेदवारहरू

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । २०७४ र २०७९ मा भएका निर्वाचनअघि मोरङका धेरै क्षेत्रहरूमा सार्वजनिक रूपमै को विजेता बन्दैछन् भन्ने भविष्यवाणी सुनिन्थ्यो । यसपटक पार्टी कार्यकर्ताहरूले गर्ने सदाबहार दाबीबाहेक अरू कसैले पनि अहिलेसम्म कहा कसको पल्लाभारी छ भन्ने अनुमान लगाउन सकिरहेका छैनन् । 

यसअघिका दुईटा निर्वाचनमा ठूला दलहरूले गठबन्धन गरेका कारण र उनीहरूको परम्परागत भोट बैंक सुरक्षित देखिएका कारण धेरैले सहजै अनुमान लगाउन सक्ने अवस्था थियो । यसपटक अवस्था फरक छ । 

सबै दल एक्लाएक्लै चुनाव लड्दैछन् । यसबीचमा स्थापित दलहरूलाई चुनौती दिन भन्दै नयाँ पार्टीहरू पनि चुनावी मैदानमा छन् । यी विभिन्न कारणले यसपटकको चुनावी प्रतिष्पर्धा रोचक हुने पक्का छ । 

यहीक्रममा धेरैको चासोको निर्वाचन क्षेत्र बनेको छ मोरङ ४ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरे यसपटक यो क्षेत्रमा उम्मेदवार छन् । 

२०७९ मा प्रदेशसभामा पराजित उनी यसपटक पार्टीको पदाधिकारी तहमा पुगेर संघीय निर्वाचन लड्दैछन् । यसअघि लगातार दुईपटक यही क्षेत्रबाट जितेका नेपाल कम्युनिष्ट पार्टीका अमनलाल मोदी, कोशीका पूर्वमन्त्री नेकपा एमालेका जीवन घिमिरेलगायत प्रमुख दलका उम्मेदवारहरू यहाको चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सन्तोष राजवंशीलाई उम्मेदवार बनाएको छ । 

यो क्षेत्रमा कूल २० जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । 

उनीहरूमध्ये कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका विनोद परियार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी रद्द भएको छ । अब १९ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा हुनेछन् । 

मोरङ ४ मा पर्ने ग्रामथानको नेता चोकमा सोमबार दिउँसो सर्वसाधारणका कुरा सुन्दा लाग्थ्यो, उनीहरूले आफ्नै क्षेत्रको अहिलेसम्मको चुनावी माहोल र सम्भावित नतिजाबारे कुनै अनुमान लगाउन सकेका छैनन् । 

त्यसो त फागुन २१ आउन अझै धेरै समय बाँकी नै छ । यसबीचमा हुने अनेकौं चलखेल र कसरतले निर्माण गर्ने माहोल जस्तो पनि हुनसक्छ । 

यद्यपि अघिल्ला निर्वाचनहरूमा देखिएको मतको रूझान र नतिजालाई आधार मान्दा मोरङ ४ मा यसपटक रोचक प्रतिष्पर्धा हुने अनुमान लगाउन सकिन्छ । 

ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको ५, ६ र ७ नम्बर वडा र विराटनगर महानगरपालिकाको १, २ ३, ८ र १० नम्बर  वडा समेटिएको मोरङ  क्षेत्र नं ४ मा यसपटक कूल १ लाख १९ हजार २५५ जना मतदाता छन् । 

निकट विगतमा भएको निर्वाचन २०७९ को हो । उक्त निर्वाचनबाट माओवादीका अमनलाल मोदी विजेता बनेका थिए । त्यसबेला माओवादी, कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरू गठबन्धन बनाएर चुनावी मैदानमा थिए । 

गठबन्धनबाट मोदीले ३० हजार ६१२ मत प्राप्त गरेर जित हात पार्दा एमालेका विनोद ढकालले २४ हजार ४६३ मत पाएका थिए । 

२०७९ मा मोरङ ४ मा ७ हजार ४ सय ६८ मत पाएर राप्रपा तेस्रो बन्दा रास्वपाका नेत्र शिवाकोटी चौथो बनेका थिए । उनले ५ हजार ३ सय ३३ मत पाएका थिए ।

गठबन्धनका कारण प्रत्यक्षमा यस्तो नतिजा आउँदा समानुपातिकमा भने कांग्रेस पहिलो बनेको थियो । २०७९ मा मोरङ ४ मा कांग्रेसले सबैभन्दा बढी १९ हजार ५ सय ५५ मत पाएको थियो । 

दोस्रोमा एमालेले १८ हजार ३ सय ८६ मत प्राप्त गर्दा माओवादीले ९ हजार ७ सय ६० मत पाएर तेस्रो भएको थियो । त्यस्तै राप्रपा ७ हजार ८ सय ४६ मतसहित चौथो र ७ हजार २ सय ७० मतसहित रास्वपा पा“चौं भएको थियो । 

नेकपाका उम्मेदवार अमनलाल मोदी यो क्षेत्रबाट जीतको ह्याट्रिक गर्न चाहन्छन् । 

उनले २०७४ मा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरेका थिए । त्यसबेला पनि उनले वाम गठबन्धनको बलमा जितेका थिए । 

एमाले र माओवादी मिलेर चुनाव लडेपछि उनले सहजै जित हात पारेका थिए । २०७९ को चुनावमा कांग्रेस र माओवादी केन्द्रका् गठबन्धन हुँदा मोदी निर्वाचित भएका थिए । 

यसपटक भने समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको मोदीको दल एक्लै चुनावी मैदानमा छ । उनका अन्य प्रतिष्पर्धीहरू पनि एक्लाएक्लै प्रतिष्पर्धामा छन् । यसर्थ पनि रोचक प्रतिष्पर्धा यहाँ अपेक्षित बनेको छ । 

थारू बहुल यो क्षेत्रमा मोदीले जातीय सहानुभूतिको मत पाउने अपेक्षा नेकपाको छ । 

त्यस्तै कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पहिलोपटक संघीय चुनाव लड्दैछन् । कांग्रेसमा लामो समयदेखि रूपान्तरणको बहस छेड्दै आएका उनले यसपटक कांग्रेसमा विद्रोहको अगुवाइ गरेका थिए । 

फलस्वरूप विशेष महाधिवेशनले उनलाई महामन्त्री चुनेको थियो । 

अघिल्लो चुनावमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएका कारण त्यो मत जोगाउन सके जीत हात पार्ने आशा कांग्रेसमा देखिन्छ । 

२०७४ मा कोशीको सामाजिक विकासमन्त्री हुँदा काम गर्ने मन्त्रीको छवि बनाएका एमालेका जीवन घिमिरे २०७९ को प्रदेशसभा चुनावमा भने पराजित भएका थिए । 

त्यसबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनसँग एमाले एक्लै लडेको  थियो । 

२०७९ मा यो क्षेत्रमा  प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दोस्रो धेरै मत पाएको र मतान्तर धेरै नभएका कारण त्यो मतान्तर घटाउन सकिने आशामा एमाले देखिन्छ । 

स्थापित र पुराना  दलहरूसँग आक्रोशित मत आफूले पाउने आशामा रास्वपा देखिन्छ । यद्यपि यही क्षेत्रमा काम गरिरहेका पुराना कार्यकर्ताहरूबाट उम्मेदवार नबनाएको भन्ने असन्तोष रास्वपामा देखिएको छ । 

यसरी भिन्न–भिन्न दाउसहित दलहरू र स्वतन्त्र उम्मेदवारहरू मोरङ ४ मा जीत हात पार्ने दौडमा छन् । उनीहरूमध्ये कसले सफलता पाउला ? त्यसका लागि फागुन २१ को जनादेश कुर्नु पर्नेछ ।

View : 427

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved