विराटनगर । अन्तराष्ट्रिय अनलाइन जुवा खेलमा नेपालमै बसेर सहजीकरण गर्ने दुई जना मोरङको पथरीबाट पक्राउ परेका छन् । उनीहरू बारे साइबर ब्युरोको सहयोगमा अनुसन्धान गरिने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका–९ स्थित गुम्बाटोलमा बसेर अनलाइन सट्टेबाजी खेल खेलाउन प्रयोग भएका दुई युवकलाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दै आएको छ ।
स्थानीय शान्तिराम खरेलको घरमा अनलाइन जुवा खेलाइने गरेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय पथरीले छापा मारेको थियो ।
२४ वर्षीय खरेलले स्थानीय १९ वर्षीय टंकबहादुर थापाको सहयोगमा अनलाइन जुवामा सहजीकरण गरेको पाइएको प्रहरीले जनाएको छ ।
अन्तराष्ट्रिय अनलाइन जुवालाई बिभिन्न साइटबाट क्यासिनो जस्तो खेल हुने गरेको र यहाँ बसेर खेलका लागि कर्मचारीका रुपमा खरेल र थापाले सहजीकरण गरेको पाइएको प्रहरीको भनाइ छ ।
उनीहरूले विदेशीको फेसबुक आईडी प्रयोग गरेर जुवा खेलाउने गरेको र अन्य देशका जुवाडेलाई नयाँ आईडी र पासवर्ड पठाउने गरेको पाइएको पथरीका नायव उपरीक्षक मोहनबिक्रम दाहालले बताए । पक्राउ परेका युवाले प्रयोग गरेको ल्याप्टप र मोबाइल प्रहरीको नियन्त्रणमा छ ।
नेपाल प्रहरीको साइबर ब्युरोबाट थप अनुसन्धान गरेर आईटीका विज्ञसँग परामर्श लिएर मुद्दा चलाइने प्रहरीले बताएको छ ।
यसैबीच बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई मोरङ प्रहरीले एकै दिनमा पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मंगलबार उनीहरूलाई जिल्लाका बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जुवा मुद्दाका विराटनगर–८ निवासी बिक्रम थापा, सोही वडाका कुटपिट अंगभंग मुद्दाका फरार योगेन्द्र यादव, पथरी–२ का लागुऔषध मुद्दाका फरार सुमन विश्वकर्मा, चोरी मुद्दाका विराटनगर–१५ निवासी सौरभ साह, सोही वडाका लागुऔषध मुद्दाका सागरकुमार साह, चेक अनादर मुद्दाका विराटनगर–१८ निवासी दिनेशकुमार यादव छन् ।
यस्तै रंगेली–७ का सवारी ज्यान मुद्दा र बहुबिवाह मुद्दाका फरार दिलबहादुर अधिकारी, चेक अनादर मुद्दाका विराटनगर–५ निवासी गोपाल राउत पक्राउ परेका छन् ।
यसैगरी जालसाज मुद्दामा फरार रहेका उर्लाबारी–१ का लालबहादुर थापा, लेनदेन मुद्दाका फरार उर्लाबारी–४ का मुना ढुङ्गाना, चेक अनादर मुद्दाका फरार विराटनगर–१५ का अरुणकुमार मण्डल, घरेलु हिंसा मुद्दाका फरार विराटनगर–१५ कै किसनलाल साह, सोही मुद्दाका महगी साह, चोरी मुद्दाका फरार पथरी–५ का बिजय लिम्बू, सवारी ज्यान मुद्दाका फरार रंगेली–६ का अजय मण्डल र चेक अनादर मुद्दाका फरार विराटनगर–१४ का गीतादेवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूले ९ वर्ष ९ महिना १ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरीले बताएको छ । उनीहरूले १ लाख ८४ हजार ७ सय ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने देखिएको नायव उपरीक्षक जोशीले बताएका छन् ।
View : 61
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved