Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश लगानी सम्मेलनले सरकारकै भविष्यमा प्रश्नचिह्न !

‘केन्द्रमा झै प्रदेशमा पनि यो गठबन्धनको सरकार हो, यसले सबैको आवाज सुन्नुपर्छ, सुन्दैन भने कहाँ सुनाउनुपर्छ हामीले पनि जानेका छौं ।’
उद्‌घोष सम्वाददाता
२२ मंसिर २०८१, शनिवार

विराटनगर । कोशी प्रदेश सरकारले यही माघ ११–१३ मा गर्ने भनिएको लगानी सम्मेलनको व्यवस्थापनको किचलोले प्रदेशको राजनीतिक शक्ति सन्तुलनमै फेरबदल आउने संकेत देखिएको छ । सम्मेलनको व्यवस्थापनलाई लिएर विरोध जनाउने व्यवसायीहरूको एउटा समूहले सरकारको रुखो जवाफका कारण अब जे पनि हुन सक्ने संकेत गरेका हुन् ।

कोशी प्रदेश सरकारले आउँदो माघ ११, १२ र १३ गते तीनदिने ‘कोशी प्रदेशी लगानी सम्मेलन, २०८१’ आयोजना गर्दैछ । तर सम्मेलनको व्यवस्थापन अन्य संघसंस्थासँग सल्लाह र छलफल नै नगरी उद्योग संगठन मोरङलाई एकल रुपमा सुम्पेको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विरोध जनाएको छ । 

परिसंघका अध्यक्ष पवनकुमार सारडा प्रदेश स्तरको संस्थालाई पन्छाएर जिल्ला तथा नगरस्तरीय संस्थालाई व्यवस्थापनको अधिकार सुम्पने विषय आफूहरूलाई मान्य नहुने बताइरहेका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगी व्यवसायीहरूबीच राजनीतिक पक्षधरताको खेल खेलेको सारडा आशंका व्यक्त गर्छन् । ‘यदि त्यसो हो भने यो गम्भीर विषय हो’ सारडाले भने । 

कोशी प्रदेश सरकार कुनै एक राजनीतिक दलको एकल सरकार नभएको बताउँदै सारडा भन्छन्, ‘केन्द्रमा झै प्रदेशमा पनि यो गठबन्धनको सरकार हो, यसले सबैको आवाज सुन्नुपर्छ, सुन्दैन भने कहाँ सुनाउनुपर्छ हामीले पनि जानेका छौं ।’

परिसंघ अध्यक्ष सारडा संविधान सभा सदस्य र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनी प्रदेश लगानी सम्मेलनमा कसैको राजनीतिक पहिचान छ्यासमिस हुन आवश्यक नभएको बताउँछन् । 

तथापि उनै सारडा प्रदेशका मुख्यमन्त्री एमाले भएको र प्रकारान्तरले सोही पार्टीनिकटका व्यवसायीको पक्ष लिई व्यवसायीहरूबीच पक्षपातपूर्ण व्यवहार गरेको सांकेतिक गुनासो गर्छन् ।

लगानी सम्मेलनको व्यवस्थापनको जिम्मा उद्योग संगठन मोरङले निर्वतमान अध्यक्ष सुयस प्याकुरेलको बलमा पाएको परिसंघसम्बद्ध व्यवसायीको आशंका छ । प्याकुरेल नेकपा एमालेको पारिवारिक खान्दानीका सदस्य मानिन्छन् । प्याकुरेल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अंकल’ भन्छन्, र ओलीसँग सोझै सम्बन्ध राख्ने हैसियत राख्छन् । ओली–प्याकुरेलको सम्बन्धको फ्याक्टर नै कुनै न कुनै रुपमा प्रदेश लगानी सम्मेलनमा प्रकट भएको असन्तुष्ट उद्योगी व्यसायीको भनाइ छ ।

यता उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कोशी प्रदेश सरकारले पत्याएर आफूहरूलाई व्यवस्थापनको जिम्मा दिनुबाहेक कुनै फ्याक्टरले काम नगरेको दावी गर्छन् । 

‘हामीले यसो–यसो गर्ने भनेर व्यवस्थित प्रपोजल प्रदेश सरकारलाई दियौं, उसलाई चित्त बुझ्यो, पत्यायो र हामीलाई व्यवस्थापनको जिम्मा दियो’ अध्यक्ष सुराना भन्छन्, ‘यसमा हाम्रो के गल्ती ? हामी लगानी सम्मेलनको युद्धस्तरको तयारीमा लागेका छौं ।’ 

उनी संगठनको एक्स्पो र लगानी सम्मेलन सँगसँगै सम्पन्न हुने बताउँछन् । तर, सम्मेलनको व्यवस्थापनका विषयलाई लिएर विवाद भयो नि भन्ने उद्घोषको प्रश्नमा सुराना आफूहरूको काम तयारीमा जुट्ने भएको र अन्य कुनै कुरा सुन्न आवश्यक नभएको बताउँछन् । 

‘हामीहरू ‘फुल फेज’ को तयारीमा छौं, अब बिहेको दिन बेहुला–बेहुली आउँछन् कि आउँदैनन् भनेर दिमाग खराब गरिरहनुको कुनै तुक छैन’ सुराना भन्छन् ।

यही माघ ११ देखि १३ गतेसम्म कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरी त्यसको अवधारण पत्र पनि सार्वजनिक गरेको छ । उक्त अवधारण पत्रमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमै लगानी सम्मेलन घोषणा गरअनुरुप सम्मेलनको तयारी सुरु गरिएको उल्लेख छ । 

सम्मेलनको बजेट तथा कर्मचारी व्यवस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने जनाइएको छ । 

सरकारले सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संगठनहरू, सहकारी क्षेत्र, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, गैरआवासीय नेपालीहरू, विश्वविद्यालयका पदाधिकारीहरू, विषय विज्ञहरू, वित्तीय, आर्थिक तथा लगानीका क्षेत्रका शोधकर्ताहरू, कोशी प्रदेशका सबै स्थानीय सरकारहरू, सञ्चारकर्मी एवम् अन्य सरोकारवालाहरूको सहभागिता हुने अपेक्षा गरेको छ ।

View : 113

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved