विराटनगर । जेनजी आन्दोलनपछि सरकारको नेतृत्वबाट पदच्यूत बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो ध्येय एउटै छ, ११ औं महाधिवेशनबाट फेरि पार्टी नेतृत्वमा आउने । आफू अनुकूल विधान संशोधन गराएका ओली सर्वसम्मत रुपमा अध्यक्ष बन्ने दाउमा पनि छन् । यद्यपि उनको यो चाहनामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बाधक बन्ने भएका छन् ।
मंगलबार विज्ञप्तिमार्फत पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष ओलीको सर्वसम्मत बन्ने चाहना पूरा नहुने भएको हो ।
अध्यक्ष बनेरै छाड्ने ओलीको अठोट र पोखरेलको प्रतिबद्धतामा तलमाथि नभए मंसिर अन्तिम साता हुने महाधिवेशनमा यी दुई नेता एमाले अध्यक्षमा प्रतिस्पर्धामा ओर्लने छन् ।
पछिल्लो समय एमालेमा वर्जित जस्तै भइसकेको ओलीविरुद्धको प्रतिस्पर्धा सम्भवतः ११ औं महाधिवेशनमा किन पनि निश्चित छ भने वरिष्ठ उपाध्यक्ष पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको छ ।
त्यसो त भण्डारी पक्ष स्वयम् उनैलाई अध्यक्षमा अघि सार्ने तयारीमा थियो । तर, ओलीले भण्डारीको सदस्यता खोसेपछि यो समूहले पोखरेललाई अघि सारेको हो । मोरङका एमाले नेता विनोद ढकालसहितका नेताहरु भण्डारी समूहमा सक्रिय छन् ।
चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । तर, भीम रावलले उनलाई चुनौती दिंदै प्रतिस्पर्धा गरे । अध्यक्षमा पराजित रावललाई ओलीले कारबाही गरेपछि रावल अहिले नेपाली कम्युनिष्ट पार्टीमा छैटौं वरियताको नेता बनेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले सचिवालयको ६० औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका हुन् ।
‘म अध्यक्षका लागि योग्य छु’ पोखरेलले बैठकमा ओलीलाई भनेका थिए, ‘तपाईंले मलाई सहयोग गर्नुहोस् । अभिभावकीय भूमिकामा बस्नुहोस् ।’
त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले नवौं र दशौं महाधिवेशन सम्झाउँदै मिलेर जान भनेका थिए । नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका माधवकुमार नेपालले पार्टी छाडेका थिए । दशौंमा प्रतिस्पर्धा गरेका भीम रावल पार्टीबाट निकालिएका थिए ।
उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरेका छन् ।
पोखरेलले जेनजी पुस्ताको आन्दोलनका क्रममा जीवन गुमाएका नवयुवाहरू तथा नेपाल प्रहरीका नौजवानहरूप्रति दुःख व्यक्त गरेका छन् ।
‘भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र मागसहित भदौ २३ गते नवयुवाहरूको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु । तर, भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरूको आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको विध्वंशको घोर निन्दा गर्दछु । दुवै दिनका घटनाका बारेमा निस्पक्ष र तथ्यपरक छानबिन गरी दोषीउपर कारबाही गर्न माग गर्छु’ उनले भनेका छन् ।
अध्यक्ष ओली चुनावमा भन्दा संसद् पुनस्र्थापनामा बढ्ता केन्द्रित भएका बेला पोखरेलले भने एमाले चुनावमा जानुपर्ने बताएका छन् । अध्यक्ष ओली पनि यही विचारमा आइपुगिसकेका छन् । एमालेले मंगलबार नै दल दर्तासमेत गरिसकेको छ । पोखरेलले भदौ २३ पछिको अवस्था र भदौ २२ अघिको परिस्थितिमा ठूलो भिन्नता आएको पार्र्टी पंक्तिले बुझ्नुपर्ने बताएका छन् ।
पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम गर्न माग गरेका छन् । चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गरेको भन्दै पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने उनले बताएका छन् ।
‘राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय भएको’ उनको भनाइ छ ।
विधि, समन्वय, सामूहिकता र सहकार्यमा आफूले विश्वास राख्ने भन्दै आफू पार्टी अध्यक्ष बन्न योग्य भएको पनि उनले बताएका छन् । उनले जबजको समीक्षा हुनुपर्ने पनि बताएका छन् ।
‘म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरूका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरूमा अपिल गर्दछु’ उनले भनेका छन् ।
पोखरेलले पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने बताएका छन् । एमालेको नवौं महाधिवेशनमा यो लागू गरिएको थियो । दशौं महाधिवेशनअघिको विधान महाधिवेशनले यसलाई निरन्तरता दिए पनि सौराहा महाधिवेशनबाट हटाइएको थियो ।
उनले ७० वर्षे उमेर हदबारे बोलेका छैनन् । २०१० माघ २० मा जन्मिएका उनी आफैं ७३ वर्षमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने तहमा पुगेका छन् ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved