Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । सुरक्षित इन्टरनेट दिवस २०८२को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन् । 

यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनियता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ  । 

जसबाट ५० हजार भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रम अन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ । 

कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ । 

पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन पश्चात यो अभियान आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ । यो वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस् : एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सिबल युज अफ एआई’ रहेको छ ।

नेपालमा एनसेल र नासा सेक्युरिटिजले संयुक्त रूपमा सुरु गरेको कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलवार आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो । 

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले सम्बोधन गर्दै डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे आफ्ना बुझाइहरू विद्यार्थीहरूसमझ साझा गरेका थिए ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved