विराट ट्रेड एक्स्पो–२०२५ स्टल भिजिट
विराटनगर । विराट ट्रेड एक्स्पोको हल नं. ३ को मेक इन नेपालको स्टल नं १५६ मा रुचिका वैद्यलाई बोल्न फुर्सद थिएन ।
आफ्नै देशको उत्पादन प्रयोग गरौं भन्ने थिमका साथ श्रीमान् रोहित बाफनासँगै स्टलमा भेटिएकी वैद्य घरदेखि घाटसम्मका लागि चाहिने सबै सामान नेपालमै बनोेस् भन्ने चाहना राख्छिन् ।
उनको यही चाहना र हुटहुटीले घरायसी सरसफाईमा प्रयोग हुने विभिन्न प्रकारका सामानहरूको उत्पादन उनले स्वदेशमै सुरु गरेकी छन् ।
‘मेक इन नेपाल’ नामको कम्पनीकी मालिक वैद्यलाई श्रीमान् रोहित बाफनाले मात्रै होइन बुवा अभय वैद्यले पनि सहयोग गरेका छन् ।
पारिवारिक एकताबाट सिर्जित उनीहरूको कम्पनीका बारेमा अहिले एक्स्पोमा आउनेले निकै चासो राखेका छन् ।
मेलाको स्टलमा आएर सामान खरिद गर्नेले आकर्षक छुट पाउनुका साथै एक किन्दा एक सित्तैमा पाउने वैद्यले बताइन् ।
वैद्यको कम्पनीले आफ्नो उत्पादित सामान बिक्रीका लागि बीचको च्यानल प्रयोग नगर्ने नीति लिएको छ ।
ग्राहकले सोझै कम्पनीसँग सम्पर्क गरी सामान घरमै मगाउन सक्छन् । जसले गर्दा बीचको व्यक्ति वा संस्थाले प्राप्त गर्ने मुनाफा सोझै ग्राहकका लागि छुट हुने उनले बताइन् ।
मेक इन नेपालले ग्राहकहरू कम्पनीसँग जोडिरहुन् भन्नका लागि विशेष मेम्बरसीपको योजना पनि अघि सारेको छ । यसरी मेम्बर बनेका ग्राहकहरूले आफूले खोजेको सामान फोन गरेकै भरमा घरमा डेलिभरी पाउँछन् ।
मेक इन नेपालले घरको भान्सा, बाथरुममा प्रयोग हुने उच्च कोटीको फिनाइलसहित डिटर्जेन्टहरू, छाला हेरचाहका प्रसाधनलगायत पशु हेरचाहका आवश्यक सामग्रीहरू उत्पादन गर्दछ ।
View : 351
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved