विराटनगर । बोक्सीको आरोपमा महिलालाई दिसापिसाव खुवाउने झाँक्री पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–७ की ५५ वर्षीया एक महिलालाई बोक्सीको आरोप लगाएर दिसापिसाब खुवाउने सोही ठाउँकी ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार माझीले ती महिलालाई कुटपिट गर्दै बिहीबार दिउँसो मानव मलमूत्र खुवाएको अनुसन्धानमा खुलेको छ । उनले पीडित महिलालाई बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गरेको प्रहरीको भनाई छ ।
पारो माझी गाउँघरमा झाँक्रीको काम गर्दै झारफुक गर्दै हिड्ने गरेको जनाइएको छ । उनी बिहीबार साँझ नै पक्राउ परेको प्रहरीले जनाएको छ ।
झाँक्री महिलाको घरमा लगाइएको पूजाको दियो हराएपछि दियो चोरी गरेको आरोपमा पीडित महिलामाथि दुव्र्यवहार सुरु भएको थियो । हराएको दियो बोक्सीले चोरी गरेको भन्दै पीडित महिलालाई अमानवीय व्यवहार गर्दै नियन्त्रणमा लिएर दिसापिसाब खुवाएको पाइएको प्रहरी प्रवक्ता दाहालले बताए ।
पीडित पक्षले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हरैँचामा घटनाको जानकारी गराएपछि प्रहरीले झाँक्री महिलालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकी माझीले आफुले जोखाना हेर्दा दियो चोरेर लगेको थाहा पाएको दाबी गर्दै त्यस्तो काम बोक्सीले गर्ने भन्दै पीडित महिलालाई दुर्व्यवहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने तयारी गर्दै अनुसन्धान अघि बढाएको छ । उनलाई शुक्रबार नै मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
View : 201
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved