Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

रक्तदानको नयाँ कीर्तिमान

रक्तसम्राट प्रेमसागर कर्माचार्यद्वारा १८६ औं पटक रक्तदान

उद्‌घोष संवाददाता
२३ चैत २०८२, सोमवार

Advertisement

राष्ट्रिय रक्तसम्राटको नामबाट परिचित नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्नै कीर्तिमान तोड्दै १८६औं पटक रक्तदान गरेका छन्।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ स्थित धार्मिक एवं पर्यटकीय स्थल पाल्चोकी भगवती मन्दिरको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा उनले यो ऐतिहासिक रक्तदान गरेका हुन्। युवा पुस्तामा मानवीय सेवा र जीवन बचाउने भावना जागृत गराउन आफू विभिन्न जिल्ला पुगेर रक्तदान गर्दै आएको कर्माचार्यले उल्लेख गरे।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले दाताले निःशुल्क दिएको रगत सरकारले बिरामीलाई पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

उनले यस अभियानका लागि आफू निरन्तर लागिपरेको समेत बताए। पाल्चोकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कर्माचार्यसहित १७ जनाले रक्तदान गरेका थिए।

सोही अवसरमा धनबहादुर पाण्डे (समीर) को अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाजको सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति समेत गठन गरिएको छ।

योसँगै संस्थाको जिल्ला शाखा संख्या ४५ पुगेको छ। सामाजिक सेवा र रगतको अभाव मेटाउने उद्देश्यका साथ विस्तारित यस समितिले स्थानीय स्तरमा रगतको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

View : 258

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved