प्रतिनिधि सभा निर्वाचन :
विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा १ हजार ९०७ मतदान स्थलमा ३५ लाख ७४ हजार ३१० मतदाताले मतदान गर्दैछन् ।
निर्वाचन आयोगका अनुसार प्रदेशका १ हजार ९०७ मतदान स्थलमा ४ हजार ३०० मतदान केन्द्र तोकिएका छन् ।
सबैभन्दा बढी ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्र रहेको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । यो संख्या कोशी प्रदेशकै सबैभन्दा धेरै हो ।
झापा जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २८५ मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र तोकिएको छ । यहाँ ५ लाख ८० हजार ९४५ मतदाता कायम रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १०३ मतदान स्थल र २७५ मतदान केन्द्र निर्धारण गरिएको छ । अधिकांश पहाडी क्षेत्र रहेको उदयपुरमा २ लाख ३८ हजार ९२६ मतदाता रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको इलाममा १ लाख २२ हजार ७१५ मतदाता रहेका छन् । १५० मतदान स्थलमा २९० वटा केन्द्र रहेको जनाइएको छ ।
यस बाहेक सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, संखुवासभा, ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर र तेह्रथुम एक÷एकवटा निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । आयोगका अनुसार सोलुमा १२३ मतदान स्थल र १३८ मतदान केन्द्र, ८५ हजार ५१५ मतदाता रहेका छन् ।
ओखलढुंगामा ८४ मतदान स्थल, १५७ मतदान केन्द्र र १ लाख २२ हजार ७१५ मतदाता रहेका छन् । खोटाङमा १३६ मतदान स्थल, १९५ मतदान केन्द्र र १ लाख ४७ हजार १२० मतदाता रहेका छन् ।
संखुवासभामा १०९ मतदान स्थल, १६४ मतदान केन्द्र र १ लाख १९ हजार ६३० मतदाता छन् । ताप्लेजुङमा ८० मतदान स्थल, १२७ वटा केन्द्र र ९० हजार ३२७ मतदाता कायम गरिएका छन् ।
पाँचथरमा १०२ मतदान स्थल, १७९ मतदान केन्द्र र १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन् ।
धनकुटामा ११९ मतदान स्थल, १६६ केन्द्र र १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । भोजपुरमा ८७ मतदान स्थल, १५९ मतदान केन्द्र र १२५ मतदाता रहेका छन् । सबैभन्दा कम तेह्रथुममा ५६ मतदान स्थल, ९३ केन्द्र र ७३ हजार १३७ मतदाता रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार तराईका जिल्लामा मतदाता संख्या बढी भएकाले मतदान केन्द्रको संख्या पनि बढी रहेको छ । पहाडी र हिमाली जिल्लामा भौगोलिक कठिनाइका कारण मतदान स्थलको संख्या केही कम छन् ।
View : 215
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved