एमाले महानगर अधिवेशन
एमाले महानगर अधिवेशनमा आफूमाथि अपमान भएको भन्दै मञ्च छाडेर बाहिरिएका नेता ढकाललाई अधिवेशन स्थल नछाड्न आग्रह गर्दै वडा नम्बर ३ का वडाध्यक्ष बासु बस्नेत । तस्वीर : उद्घोष
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो महानगर अधिवेशनको उद्घाटन कार्यक्रम केहीबेर तनावपूर्ण बन्यो ।
मंगलबार पार्टी कार्यालय पाञ्चालीमा सुरू भएको भएको अधिवेशनको उद्घाटनका क्रममा शुभकामना दिन बोल्ने नेताका रूपमा बोलाइएका पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालमाथि अपमानजनक व्यवहार भएपछि ढकालले मञ्च नै छाड्नुपरेको छ ।
महानगर इञ्चार्जसमेत रहेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले आफूलाई ‘अवैधानिक नेतृत्व’ को संज्ञा दिएको ढकालले बताए ।
बस्नेतको त्यस्तो अभिव्यक्तिप्रति ढकालले मञ्चमै प्रतिरोध गरेका थिए । तर आफूभन्दा कनिष्ट नेतृत्वले अपमानजनक रूपमा अभिव्यक्ति दिएपछि उनी मञ्च छाडेर कार्यकर्ताकै पङ्तीमा आएर बसे । केही कार्यकर्ताले मञ्च नछाड्न आग्रह पनि गरे । तर ढकाल मानेनन् ।
एमाले महानगरको दोस्रो अधिवेशनमा ढकालको समर्थनमा वर्तमान कमिटीका सचिव बलराम गिरी (नवीन) को प्यानलै प्रतिष्पर्धामा उत्रिन लागेको छ । त्यस्तै बस्नेतले पनि वर्तमान अध्यक्ष रोहित कोइरालाको नेतृत्वमा प्यानलै अघि सारेका छन् ।
ढकाल एमालेभित्रको राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने नेताका रूपमा चिनिन्थे । तर कोशी प्रदेश कमिटीको अध्यक्षमा पराजित भएपछि भएको केन्द्रीय सदस्य समेत गुमाएर अहिले सल्लाहकार परिषद् सदस्यमा समिति बनेका कारण उनीमाथि संस्थापनको नाममा बलमिच्या“ई हुने गरेको उनका निकटका कार्यकर्ताहरू बताउ“छन् ।
प्रदेश अध्यक्षमा पराजित भएर पनि निरन्तर संघर्ष चलाएका कारण उनी पछिल्लो पटक मोरङ जिल्ला कमिटीको १० औं अधिवेशनबाट आफूले उठाएका अध्यक्षसहित सवै पदाधिकारी जिताएर पुनः स्थापित भएका छन् । ढकाल त्यसैको निरन्तरता महानगर कमिटीमा पनि दिन चाहन्छन् । तर उनलाई त्यसरी अघि बढ्न दिने पक्षमा भने अरू छैनन् ।
सोही कारण मंगलबार महानगर कमिटीको दोस्रो अधिवेशनमा ढकाललाई बोल्न नदिनका लागि रोक्ने प्रमुख भूमिकामा देखिए बस्नेत ।
उद्घाटन कार्यक्रमको सञ्चालन गरिरहेका महानगर कमिटीका सचिव बलराम गिरीले अध्यक्ष रोहित कोइरालासँगकै सल्लाहमा ढकाललाई बोल्न दिने तयारीमा थिए । तर महानगर कमिटीको इञ्चार्जका रूपमा बस्नेतले हस्तक्षेप गरेर ढकाललाई बोल्न रोकेका थिए ।
बस्नेत आफूले भने बोले । उनले मन्तव्यको सुरूवातमै ‘बैधानिक नेतृत्वबाट पार्टी चल्नुपर्ने’ धारणा राखे । उनले त्यसो भन्दा तल रहेका धेरै नेता कार्यकर्ताहरूले ‘को हो अवैधानिक नेतृत्व ?’ भन्दै मुखामुख गरेका थिए ।
बस्नेतको आरोप भाषणमा मात्रै सीमित रहेन । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले नै ‘तपाँईले बोल्नु भएन त ?’
भनेपछि ढकालले आफूलाई नमिठो लागेको बताए । कार्यक्रम सञ्चालक गिरीले ढकाललाई पनि बोल्न दिने कुरा गरेपछि मञ्चमा ढकालकै छेउमा रहेका बस्नेतले ‘अवैधानिक नेतृत्व’ भन्दै ढकालमाथि पुनः अपमानजनक अभिव्यक्ति दिए । त्यसपछि ढकालले मञ्चमै रहेका कोशी इञ्चार्ज शेरधन राईलाई ‘म कसरी अवैधानिक ?’ भन्दै जवाफ माग गरेका थिए ।
बस्नेतको अभिव्यक्तिलाई लिएर ढकालले राईमाथि केहीबेर प्रश्न गरे । तर राईले मुसुमुसु हाँसेर विवादलाई सामान्य बनाउने रणनीति अपनाए ।
आफूमाथिको अपमान सहन नसकेपछि ढकाल लगाएको माला खोलेर मञ्चबाट बाहिरिए । उनलाई विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेत लगायतका नेता कार्यकर्ताले कार्यक्रम स्थल नछाड्न आग्रह गरे । त्यसपछि उनी कार्यकर्ताकै पङ्तीमा बसेर आफूमाथिको व्यवहार सुनाउनतिर लागे ।
‘म त बोलाएर आएको थिएँ, रोहितले नै मलाई बोलाएको थियो, नजाँदा पनि हुन्थ्यो भन्ने लागेको थियो तर बोलाएपछि नजाँदा झन अनर्थ लाग्ने भएपछि गएको थिएँ, मैले आफूले बोल्नै पर्छ भनेर जिद्दी गरेको पनि थिइँन’ ढकालले भने, ‘तर ममाथि मञ्चमै अभद्र अभिव्यक्ति दिइयो, म कसरी अवैधानिक भएँ ? मलाई अवैधानिक नेतृत्व प्रमाणित गरिदिने को हो ?’ उनले पार्टीलाई यसैगरी सीमित घेराभित्र चलाउने व्यक्तिहरूको बोलवाला बढेको बताए ।
ढकालले वर्तमान अध्यक्ष रोहित कोइरालाको विपक्षमा नभए पनि उनी बाहिरबाट गलत व्यक्तिहरूको सल्लाहमा चल्न बाध्य बनेका कारण नयाँ सोच र दृष्टिकोण बोकेर अघि बढ्ने टिमलाई समर्थन गर्नुपर्ने बाध्यात्मक अवस्था बनेको प्रतिक्रिया दिए ।
अधिवेशनलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवं कोशी इञ्चार्ज राईले पार्टीभित्र खुद्रा विषयले स्थान पाएर नेता कार्यकर्ताहरू अनेकौं झमेलामा फसेको बताए । उनले निजी समस्या र महत्वकांक्षा व्यक्त गरेको आधारमा नेता कार्यकर्ता अलमलिने गरेको बताए । त्यस्तै लोकतान्त्रिक अभ्यासका नाममा टकराव बढिरहेको राईको भनाई थियो ।
आफ्नो तर्फबाट मोरङको १० औं जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउने अधिकतम् प्रयास गरे पनि सहमति नभएको उनले बताए ।
‘पार्टीभित्र स्वस्थ प्रतिष्पर्धाको बाटो खुलेको छ तर जिल्लामा जे भयो, जे गरियो त्यही कुरा पालिका हुँदै वडामा पुर्याउनु पर्छ भन्नु हुँदैन’ राईले भने, ‘त्यसले पार्टीलाई राम्रो गर्दैन ।’
उनले पार्टी नेता ढकाललाई बोल्न नदिएको विषयमा असन्तुष्टि जनाउँदै भने, ‘सवैलाई थोरै थोरै बोल्न दिएको भए पनि हुने थियो, पछि उद्घाटन कार्यक्रमलाई छोटो बनाउन खोजेको देखियो, अब जिल्लामा जे भए पनि त्यही सकियो, सवैभन्दा पहिले पार्टीका नेता कार्यकर्ताको मन मिलाउँ, हाम्रो पार्टीको राष्ट्रिय संकल्प पूरा गर्न यही कुरामा केन्द्रको पनि निर्देशन छ ।’
उनले विराटनगरमा एमाले १० वर्षपछि परेको बताए । २०८४ मा विराटनगरमा एमालेले जसरी पनि जित्ने गरी अहिले नै सक्षम नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।
महानगर कमिटीको उद्घाटन शत्रमा केन्द्रीय कमिटी सदस्य एवं मोरङ इञ्चार्ज जीवन घिमिरे र मोरङ जिल्ला अध्यक्ष अजम्बर राई लगायतका नेताहरूले समेत आफ्नो ‘लाइन’ अनुसारको भनाइ राखेका थिए ।
महानगर कमिटीको दोस्रो अधिवेशनमा नेता ढकालको समर्थनमा अध्यक्षमा बलराम गिरी (नवीन), उपाध्यक्षमा सुभाषकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाईं, उपसचिवमा हमिद आजाद र हिमा मैनानी (पोखरेल) ले उम्मेदवारी दिंदैछन् ।
त्यसैगरी रोहित कोइरालाको टिमबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र दुई उपसचिवमा चन्द्रशखेर विश्वास र कला डाँगीलाई अघि सारिएको छ । अधिवेशन स्थलमा भेटिएका प्रतिनिधिहरूले राम्रो काम गर्ने व्यक्तिहरूलाई गुटउपगुट नभनी भोट हाल्ने वातावरण नेतृत्वले बनाउनु पर्ने बताए ।
पार्टी अधिवेशनमा ‘बाउन्सर’
महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटनमा अर्को दृष्यमा थिए होटल तथा रेष्टुरेन्टमा राखिने ‘बाउन्सर’ ।
‘यी मान्छे पार्टीकै हुन् कि भाडामा ल्याएका हुन्, कसले किन बाउन्सर ल्याएको हो, पार्टीको अधिवेशनमा स्वयंमसेवक त अनेरास्ववियु वा युवा संघका कार्यकर्ता हुनुपर्ने होइन ?’ पुष्ट पाखुरा भएका एक दर्जन बाउन्सर एमालेको स्वयंमसेवकको रातो हाफ ज्याकेट लगाएर अधिवेशन स्थलमा तैनाथी भएपछि धेरैले यस्तो प्रश्न गरे ।
‘न त पार्टीका मान्छे हुन्, न त कार्यकर्ता, यहाँका मान्छे पनि होइनन्’ एमाले महानगर वडा कमिटीका एक अध्यक्षले भने, ‘कसले किन बाउन्सर ल्याएको होला, हामी त अचम्मित भयौं ।’
यसरी विरोध हुन थालेपछि अधिवेशनको उद्घाटन सकिए लगत्तै ती बाउन्सरहरू विस्तारै स्वयंमसेवकको ज्याकेट खोलेर हिंडेका थिए ।
स्रोतका अनुसार उनीहरू विराटनगरको होटल बिगको क्यासिनोमा कार्यरत बाउन्सर थिए । बिग होटलमा बस्नेतकै प्रत्यक्ष पहुँच रहेको र भनसुन पनि चल्ने भएका कारण उनकै आग्रहमा त्यहाँका बाउन्सर पार्टीको अधिवेशनमा परिचालन गरिएको सहजै अनुमान एमाले कार्यकर्ताहरूले चर्चा गरेका थिए ।
यता बस्नेतको अभिव्यक्तिलाई लिएर प्रतिनिधिहरूले जवाफ मागेपछि अधिवेशनको बन्दसत्र नै बिथोलिएको थियो । प्रतिनिधिहरूले मनोनित हुने १५ जनाको नाम सार्वजनिक गर्नुपर्ने, ढकालमाथिको अपमानको जवाफ दिनुपर्ने समेत माग गर्दै प्रश्न उठाएपछि बस्नेतले माइक खोसेको एक प्रतिनिधिले बताए ।
बन्दसत्र चल्न सक्ने अवस्था नभएपछि बस्नेतकै निर्देशनमा बन्दसत्र स्थगित भएको जनाइएको छ ।
View : 869
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved