विराटनगर । यसपटक कोशी प्रदेशका सबैजसो जिल्लाबाट विभिन्न दलहरुबाट प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवारका रुपमा धेरैको नाम सिफारिस भएको थियो । यद्यपि तीमध्ये ज्यादै थोरैको नाम मात्रै आ–आफ्नो दलको बन्द सूचीमा परेको छ ।
मुख्य दलहरुमध्ये कोशीबाट नेकपा एमालेले सबैभन्दा धेरैको नाम बन्द सूचीमा राखेको छ । अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट धेरैको नाम एमालेले बन्द सूचीमा राखेको छ ।
नेपाली कांग्रेसबाट भने तुलनात्मक रुपमा कोशीबाट धेरै कमको मात्रै नाम बन्द सूचीमा परेको छ ।
‘हामी अहिले पनि छलफलमै छौं, नामहरु फाइनल हुन बाँकी नै छ,’ महामन्त्री विश्वप्रकाश शर्माले सोमबार राति अबेर उद्घोषसँग भने ‘हामीले निर्वाचन आयोगबाट निस्सा लिएका छौं । अबेर मात्रै बुझाइन्छ होला ।’
नेता मीन विश्वकर्मालाई केही नाम दिएर निर्वाचन आयोग पठाएको कांग्रेसमा छलफल भने अबेरसम्मै चलेको थियो ।
हरेक कामका लागि अन्तिम समयमा मात्रै तात्तिने नेपालका राजनीतिक दलहरुले समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन पनि त्यसै गरेका छन् ।
सोमबार समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिनमा राति अबेरसम्म दलहरुले बन्द सूचीमा रहेका नामहरु निर्वाचन आयोगमा बुझाएका छन् । पुराना मात्रै होइन, नयाँ दलहरुले पनि अबेर मात्रै सूची बुझाएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशीबाट पर्ने थोरै नेताहरुमध्ये सहमहामन्त्री भीष्मराज आङदेम्बे एक जना हुन् ।
पाँचथरमा यसअघि दुईपटक प्रत्यक्ष निर्वाचन हारेका सहमहामन्त्री आङदेम्बे यसपटक आदिवासी जनजाति सूचीको पहिलो नम्बरमा छन् ।
कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूची प्रदेशगत रूपमा टुंग्याउने क्रममा कोशी प्रदेशमै विवाद चर्किएको एक नेताले बताए । साँझ अन्तिम अवस्थामा ‘प्राविधिक सूची’ निर्वाचन आयोग पठाएको थियो ।
कांग्रेसले टोकन लिएपछि रातिसम्म सूची बुझाउन मिल्ने व्यवस्था भएकाले मीन विश्वकर्मालाई आयोग पठाइएको थियो ।
कांग्रेसले कोशीबाट महिला कोटामा मोरङकी रुक्मिणी कोइरालासहितको नाम बन्द सूचीमा समेटेको छ । बन्द सूचीमा झापाकी राधा कार्की, गोमा भट्टराईको नाम पनि छ ।
इलामकी प्रेमिका रानामगर, युवातर्फ सोलुखुम्बुकी गीता गुरुङको नाम पनि बन्द सूचीमा समेटिएको कांग्रेस स्रोतले जनाएको छ ।
‘केही नामहरु अरु पनि छन् तर थपघटका बेलामा मिलाउने कुरा भएको छ,’ कांग्रेस स्रोतले भन्यो । कांग्रेसले यसअघि २०६४ को चुनावयता संघ र प्रदेशको समानुपातिक सूचीमा परेकाहरुको नाम बन्द सूचीमा नराखेको नेताहरुले बताएका छन् ।
नेकपा एमालेको समानुपातिक सूचीमा कोशी प्रदेशबाट यसअघि अवसर पाइसकेका नेताहरूको संख्या उल्लेख्य छ । एमालेबाट मोरङका गुरु बराल र नरेश पोखरेल, डुफकुमार बा“स्तोला, झापाका सोमनाथ पोर्तेल र जितु गौतम, मेनुका काफ्ले, नीता घतानी, अनिता कन्दङ्वा, बिनाकुमारी साह, पाँचथरकी भूमिका सुब्बा तथा उदयपुरकी मञ्जु चौधरी बन्द सूचीमा परेका छन् । पाँचथरकी सुब्बा पूर्व सांसद वसन्त नेम्वाङकी पत्नी हुन् ।
कोशीबाट सिफारिस भएका धेरैजसो नेताहरू यसअघि केन्द्र वा प्रदेशमा सांसद, मन्त्री वा जिम्मेवार पदमा रहिसकेकाले एमालेको सूचीमा दोहोरिएकाहरु धेरै रहेको स्रोतको भनाइ छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि बन्द सूची बुझाएको छ । केन्द्रीय समितिमा रहेका नेताहरु नै बन्द सूचीमा पर्नेहरुको नामबारे बेखबर रहेका छन् । ‘यसअघि अवसर नपाएकाहरुको नाम धेरै समेटिएको छ’ नेकपा स्रोतले भन्यो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ प्राथमिक निर्वाचनको नतिजा सार्वजनिक गर्दा कोशीबाट केही नाम परेका छन् ।
रास्वपाले मोबाइल एपमार्फत मतदान गराएर ६ वटा क्लस्टरमा सबैभन्दा बढी मत ल््याउने ९–९ जनाको नाम सार्वजनिक गरेको हो । त्यसमा कोशीका केही नेताहरुको नाम परेको छ । यद्यपि उनीहरुको नाम बन्द सूचीमा परे–नपरेको बारे नेताहरुले बताउन चाहेनन् ।
रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच सहमति भएकाले धेरै नाम राति अबेरसम्म टुंगो लागेको थिएन ।
रास्वपामा खस आर्य क्लस्टरतर्फ सहप्रवक्तासमेत रहेका झापाका रमेश प्रसाईंले १८ हजार २२३ मतसहित पहिलो स्थान प्राप्त गरेका छन् ।
त्यसपछि क्रमशः प्रमोद न्यौपाने, रञ्जु दर्शना, टीका संग्रौला (ज्वाला), लिमा अधिकारी, समीक्षा बाँस्कोटा, विपिनकुमार आचार्य, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र स्वस्तिका लामिछाने छन् । टीका संग्रौला ज्वाला पनि झापाकै हुन् ।
आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित शीर्ष स्थानमा छन् । गायिकासमेत रहेकी खोटाङकी सत्यकला राई दोस्रो बनेकी छन् ।
समानुपातिक निर्वाचनमा सिंगो देशलाई एउटै निर्वाचन क्षेत्र मानिन्छ । दलले सिट पाउन कम्तीमा ३ प्रतिशत सदर मत कटाउनु पर्छ ।
२०७९ को निर्वाचनमा करिब ८५ हजार मत बराबर एक सिट परेको थियो । यसपटक मतदाता बढेकाले एक सिटका लागि ९०–९५ हजार मत आवश्यक पर्ने अनुमान छ ।
२०७९ को निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रंो र माओवादी केन्द्र तेस्रो भएको थियो । रास्वपा चौथो दल बनेको थियो ।
View : 324
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved