Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका मन्त्री अधिकारीको जापान भ्रमण प्रकरणका एघार मध्ये तीन जना जेल चलान

उद्घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलाबल्लभ अधिकारी पनि  मुछिएको मानव तस्करी प्रकरणका तीन जनालाई अदालतले जेल पठाएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीहरु तीनै जना  पुपक्र्षका लागि कारागार चलान भएका छन् ।

पुर्पक्षका लागि अदालतले जेल पठाएका यी तीन जनाले मानव तस्करीका लागि विचौलियाको भूमिका निर्वाह गरेको देखिएको अदालतको ठहर छ । त्यस्तै पूर्वमन्त्री अधिकारीसँगै जापान पुगेका तीन जनासँग अदालतले  ५०–५० हजार धरौटी माग गरेको छ । अदालतले कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईसँग धरौटी माग गरेको हो । 

तत्कालीन मन्त्री अधिकारी प्रक्रिया पूरा नगरी सुटुक्क जापान उड्दा यी तीन जना पनि  मन्त्रीकै टोलीमा मिसिएर जापान जान खोजेका थिए । 

तर, मन्त्रीसहित चारै जनालाई जापानले नारिता विमानस्थलबाटै फिर्ता पठाएको थियो । लगत्तै अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए ।  

कात्तिक २५ मा प्रहरीले पक्राउ परेका उनी १६ दिनपछि रिहा भएका थिए । 

अधिकारीबाहेक अरु ११ जनाविरुद्ध मानव तस्करी र लिखतसम्बन्धी कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो । पूर्वमन्त्री अधिकारीविरुद्ध भने सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो । 

सोही मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीश बलराम लम्सालको इजलासले थुनछेक आदेश सुनाउँदै प्रतिवादीहरूमध्ये तीन जनालाई थुनामा पठाउने र तीन जनासँग धरौटी माग्ने आदेश गरेको थियो । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कागजात बनाउन संलग्न भनिएका दुई जनालाई अदालतले  साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । गुडी राई र नवीन राई साधारण तारेखमा रिहा भएका हुन् । 

यो मुद्दाका मुख्य तीन बिचौलिया भनिएका  गोपाल भनिने योगराज गौतम, दिवाकरबाबु भट्टराई र विष्णु भट्टराई भने अझै फरार छन् । 

मोरङ सुनवर्षीका गौतमले नै तत्कालीन मन्त्री अधिकारीलाई जापान पठाउने चाँजो मिलाएका थिए ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved