विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढ्ने स्पष्ट पारेका छन् । केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस सहभागी हुन नसकेपछि राजनीतिक परामर्श गरेर आइतबार विराटनगर फर्किएका मुख्यमन्त्री कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढ्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि नै कोशी प्रदेशमा मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको बताए । उनले सोही अनुसार प्रदेशस्तरका कांग्रेसका नेताहरूसँग पनि मन्त्रालय नफुटाउने कुराकानी भएको दाबी गरे ।
‘हामी मन्त्रालय बढाउँदैनौँ’ मुख्यमन्त्री कार्कीले भने,– ‘अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ ।’
कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेशमा एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् बिस्तार हुने बताए ।
यसैबीच मुख्यमन्त्री कार्की चढेको बुद्ध एयरको जहाज विराटनगर विमानस्थलको मौसम खराब भएपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो ।
आइतबार अपरान्ह करिव २ बजे उक्त जहाज चन्द्रगढी अवतरण गरेर मौसममा सुधार आएपछि पुनः विराटनगर फर्किएको हो । जहाज विराटनगर विमानस्थलमा २ बजेर ५१ मिनेटमा अवतरण गरेको थियो ।
View : 143
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved