Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विपद्जन्य घटनामा बाग्मति प्रदेशका १० जिल्लामा तीन अर्ब ४४ करोडको क्षति

उद्घोष सम्वाददाता
१० कार्तिक २०८१, शनिवार

बागमती । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्‌बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ ।

यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

विपद्‌बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

बाढी, पहिरोजन्य विपद्‌बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार ९ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको जनाइएको छ ।

सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved