Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

दिपा दाहालको कथासङ्ग्रह ‘विजयिनी’ को विमोचन

उद्‌घोष संवाददाता
२५ साउन २०८२, आइतवार

विराटनगर । हाटखोलास्थित आरोहण गुरुकुलको सुशिला कोइराला नाटकघरको प्रेक्षालयमा शनिबार फरक शैलीमा पुस्तक विमोचन भयो । 

हल्का उज्यालो र अँध्यारो वातावरणमा कलाकार प्रदीप दाहाल दर्शकदीर्घाको ध्यान खिच्दै मञ्चको यताउति गर्दै थिए । दर्शकहरूले उनी विमोचन कार्यक्रमको व्यवस्थापनका लागि मञ्चमा देखा परेको अनुमान लगाए ।

तर कलाकार दाहालले मञ्चबाटै स्मृतिको पानाबाट ‘दोसल्ला’ शीर्षकको कथा वाचन गरेर दर्शकको अनुमानलाई गलत सावित गरिदिए । उनले न कागज हेरे, न त अन्य कुनै उपकरणको सहारा लिए । 

पूरै कथा कन्ठस्थ पारेर मञ्चमा उत्रिएका उनले कथाका पात्रका आवाज, सम्वादको उतारचढाव र परिवेशसहितको नाटकीय प्रस्तुतिमार्फत् उपस्थित दर्शकलाई कथाको गहिराईमा डुब्न बाध्य बनाए ।

कलाकार दाहालले कथाको विषयवस्तु कथानक र पात्रहरूको सम्वादलाई सजिवरूपमा मञ्चमा उतारे । उनको अन्तिम सम्वादसँगै दर्शकको तालीले हल गुञ्जायमान बन्यो । 

दर्शकले बल्ल थाहा पाए कि यो नाटकीय प्रस्तुति त कथासङ्ग्रह विमोचनको भावनात्मक ट्रेलर पो रहेछ ।

यही सनसनीपूर्ण फरक शैलीबाट शुरू भयो दिपा दाहालको पहिलो कथासङ्ग्रह ‘विजयिनी’ को विमोचन कार्यक्रम । 

वरिष्ठ कवि कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शर्मासँगै समालोचक डा. अस्मिता बिष्ट र कथाकार दाहालले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले दाहालको कथाकारितालाई परिपक्व, संवेदनशील र पात्रप्रति न्याय गर्ने शैलीको रूपमा व्याख्या गरिन् । उनले भनिन् ‘कथामा महिला र सामाजिक विद्रोहको सजीव स्वरले पाठकलाई मात्र होइन पाठकभित्रको संवेदनशील मनलाई समेत जागृत गराउँछ ।’

प्रमुख अतिथि शर्माको मन्तव्यलगत्तै प्रकाशक शाङ्ग्रिला बुक्ससम्बद्ध लेखक आन्विका गिरीले समालोचक डा. बिष्ट र कथाकार दाहालसँग बिमोचित कृतिमाथि बहस गर्दै कथाको संरचना, विषयवस्तु र पात्र चयनबारे जिज्ञासा राखिन् । 

बहसमा सहभागी हुँदै कथाकार दाहालले आफूले स्वतन्त्र लेखकको हैसियतमा कथा बुनेको धारण राखिन् । उनले भनिन् ‘कथाका पात्रहरू, विषयवस्तु र कथानक सबै मेरो अनुभव र दृष्टिकोणका उपज हुन् ।’

त्यस्तै समालोचक डा. बिष्टले महिलाकेन्द्रित कथा मात्र भनेर सीमित पार्नु अन्याय हुने तर्क गरिन् । उनले भनिन् ‘सङ्ग्रहका अधिकांश कथामा महिला दृष्टिकोणलाई केन्द्रमा राख्दै समाजका विभेद, अन्याय र विद्रोहका आवाज र सामाजिक यथार्थ चित्रण गरिएको छ ।’

कार्यक्रममा पुस्तक अध्ययन गरेका शुभलक्ष्मी लम्साललगायतका केही पाठकले पाठकीय आँखाबाट कथासङ्ग्रहका बारेमा प्रतिक्रियासहितको जिज्ञासा राखेका थिए ।

झापाबाट जम्मे हुर्केर हाल विराटनगरलाई कर्मथलो बनाउँदै आएकी दाहाल कथासङ्ग्रहमार्फत् साहित्यमा कृतिकारका रूपमा देखा परेकी हुन् । 

‘विजयिनी’ कथासङ्ग्रहमा ११ वटा कथा संग्रहित छन् ।

View : 900

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved