विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा मंगलबार सम्पन्न मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगितामा विराटनगरको एभरेष्ट मावि र सुन्दरहरैंचाको साजिलाल मावि प्रथम भएका छन् ।
स्मृति अंग्रेजी बोर्डिङ स्कुल नेमुवा बुढीगंगा मोरङको आयोजनामा ‘सामाजिक सञ्जालको प्रयोग: नविनतम् ज्ञानको खोजीकि समयको दुरुपयोग’ शीर्षकमा पक्ष विपक्षमा वादविवाद गराइएको थियो । सो शीर्षकको पक्षबाट साजीलाल र विपक्षबाट एभरेष्ट प्रथम भएका हुन् ।
स्वर्गीय चुडामणि न्यौपाने स्मृति जिल्लास्तरीय वादविवाद प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत भएको कार्यक्रममा प्रथम हुने पक्षबाट साजिलाल माविकी आरती अधिकारी र विपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतले नगद १५–१५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा द्वितीय पक्षबाट डीएभी स्कुल विराटनगरकी सेजल मेहता र विपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारी भए ।
उनीहरूले नगद १३–१३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदर्श माविका आदर्श बरालले नगद ११–११ हजारसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रत्येक वर्ष माघ ९ गते हुने सो प्रतियोगितामा यो वर्ष मोरङ ११ पालिकाबाट ३७ विद्यालयले सहभागिता जनाएको स्मृति अंग्रेजी बोर्डिङ स्कुलकी संस्थापक प्राचार्य रिता न्यौपानेले बताइन् ।
कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा लेखा समितिका अध्यक्ष ऋषिकेश पोख्रेलले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, उपाध्यक्ष अमृता गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोख्रेल, एमाले नेता सत्यनारायण चौधरी लगायतको उपस्थिति थियो ।
प्रतियोगिताको निर्णायकमा प्रसिद्ध लेखक सुविन भट्टराई, सप्तकोशी विकास बैंककी सञ्चालक सदस्य अर्थशास्त्री भेषजा काˆले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे थिए ।
View : 277
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved