Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा चुनाव :

पाँचथर : स्थापित अनुहार बाहिरिदा नयाँहरूको भिडन्त

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

विराटनगर । वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्बे बेगर नै पाँचथरमा यस पटक चुनावी प्रतिष्पर्धाको पारो क्रमशः उकालिने क्रममा छ । फागुन २१ को मिति जति–जति नजिकै आइरहेको छ, राजनीतिक दलहरूले चुनावी प्रचार र मतदाता भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

यही क्रममा कोशी पहाडी जिल्ला पाँचथरमा पनि चुनावी माहोल उत्कर्षमा छ । राजनीतिक दलहरू गाउँ–गाउँमा प्रचार समिति बनाएर सक्रिय बनेका कारण चुनावी माहोल गर्माएको हो । पाँचथर एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । 

विगतका निर्वाचनमा जस्तै यस पटक पनि दलहरू घरदैलो, सभा–सम्मेलन र संगठन परिचालनमा केन्द्रित छन् । तर यस पटकको चुनावी प्रतिस्पर्धालाई फरक बनाउने मुख्य कारण भने स्थापित अनुहारहरूको अनुपस्थिति हो ।

२०७४ र २०७९ मा मुख्य प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङ यस पटक प्रत्यक्षतर्फ मैदानमा छैनन् । 

आङ्देम्बे यस पटक कांग्रेसको समानुपातिक सूचीमा छन् भने २०७९ मा विजयी भएका नेम्बाङ स्वास्थ्य कारणले उम्मेदवार बनेका छैनन्  । 

दुई प्रमुख प्रतिस्पर्धी बाहिरिदा चुनावी मैदानमा नयाँ अनुहारहरूको हातमा पुगेको छ । कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएको छ । यसअघि प्रदेशसभा निर्वाचनमा पराजित भएका केरुङ यस पटक प्रतिनिधिसभामा अवसर खोज्दै मैदानमा उत्रिएका छन् । 

एमालेले अइन्द्र सुन्दर नेम्बाङलाई उम्मेदवार बनाएको छ । नेम्बाङ परिवारको प्रतिनिधित्व गर्दै प्रदेशसभाबाट प्रतिनिधिसभातर्फ आएका उनका लागि यो पहिलो प्रतिनिधिसभा प्रतिस्पर्धा हो ।

नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट हर्क नेम्बाङ उम्मेदवार छन् । संसदीय मोर्चामा उनको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

विगतमा बाम गठबन्धनमार्फत अन्य उम्मेदवारलाई सहयोग गर्दै आएको पार्टीले यस पटक आफ्नै उम्मेदवार उठाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एमाले पृष्ठभूमिका महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जिल्लामा युवा तथा नयाँ मतदातालाई लक्षित गर्दै रास्वपाले चुनावी अभियान चलाइरहेको छ । 

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह हालै पाँचथर पुगेर चुनावी अभियानमा सहभागी भएका थिए । उनको उपस्थितिले रास्वपाको अभियानलाई थप चर्चामा ल्याएको छ ।

श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्मा उम्मेदवार छन् । गायन क्षेत्रबाट राजनीतिमा आएका शेर्मा नयाँ अनुहारका रूपमा मतदातामाझ पुगेका छन् । राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा पनि प्रतिस्पर्धामा छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तेजकुमार कुरुम्बाङ, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघा, संघीय लोकतान्त्रिक मञ्चका भानुभक्त फियाक, राष्ट्रिय मुक्ति पार्टी नेपालका मित्र लिङदेन, मंगोल नेशनल अर्गनाइजेसनका रामकुमार तुम्रोक, नेपाल कम्युनिस्ट पार्टी माओवादीका विजय नेम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ र नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ पनि चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार पाँचथरमा कुल १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस पटक यहाँ स्वतन्त्र उम्मेदवार भने छैनन् ।

सबै उम्मेदवारी राजनीतिक दलका तर्फबाट परेको मास्केले जानकारी दिएका छन् । यस पटक पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन् । 

मतदानका लागि १०२ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये २९ मतदान केन्द्र अति संवेदनशील, ६६ संवेदनशील र ७ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । 

जिल्लामा ६० वटा वडा र भौगोलिक रूपमा फैलिएको बस्ती संरचना भएकाले उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम सञ्चालन गर्न चुनौतीपूर्ण भइरहेको छ ।

ग्रामीण बस्तीमा पुग्न समय लाग्ने र यातायातको सीमित पहुँचका कारण चुनावी अभियानलाई व्यवस्थित बनाउन दलहरू संगठन परिचालनमा सक्रिय छन् । 

यसअघिको चुनावी नतिजामा विपक्षमा गठबन्धन भए पनि एमालेले झिनो अन्तरको जीत निकालेको थियो । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वसन्तकुमार नेम्वाङ्ग विजेता बनेका थिए । उनले ३२ हजार १३५ मत प्राप्त गरेका थिए भने कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत पाएका थिए । झिनो मतान्तरले कांग्रेस पराजित भएको पाँचथरमा समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको थियो । 

समानुपातिक मतपरिणामअनुसार एमालेले २६ हजार ५९२ मत प्राप्त गरेको थियो । 

कांग्रेसले १९ हजार ४४, माओवादीले १२ हजार १६९, एकीकृत समाजवादीले ३ हजार ३८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९४८, जनता समाजवादी पार्टी, नेपालले १ हजार ७११ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ६४० मत प्राप्त गरेका थिए ।

विगतमा कांग्रेस र एमालेबीच केन्द्रित रहेको प्रतिस्पर्धा यस पटक बहुदलीय स्वरूपमा देखिएको छ । पुराना अनुहारहरू बाहिरिएपछि मतदाताले नयाँ उम्मेदवारलाई कसरी मुल्यांकन गर्ने छन् भन्ने चासो बढेको छ । 

स्थानीय विकास, रोजगारी, पूर्वाधार विस्तार र सेवा प्रवाहका विषय चुनावी बहसका केन्द्रमा छन् । फागुन २१ गते हुने मतदानले पाँचथरको चुनावी जीतको फैसला गर्नेछ ।

View : 183

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved