Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कांकडभिट्टाबाट छिरेका भारतीय कन्टेनर विर्तामोडमा नियन्त्रण, साढे ३ करोडका मालसामान बरामद

उद्‌घोष सम्वाददाता
६ जेठ २०८२, मङ्गलवार

झापा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको ३ करोड ६१ लाख रुपैयाँ बराबरको मालसामानसहित तीनवटा भारतीय कन्टेनर झापामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरिरहेका ती कन्टेनर प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जनाएको छ । तर भारतको सिमावर्ती पानीटंकीबाट नेपाल भित्रिने वस्तुको यात्रु र मालवस्तुको जाँचका लागि कांकरभिट्टा नाकामा तालिम प्राप्त कुकुरसहित बसेका सुरक्षाकर्मीले शंस्कास्पद ट्रक भित्रिदा के गरेर बसे भन्ने गहिरो प्रश्न पनि सँगै उठेको छ ।

गत बुधबार मात्रै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी भएको प्रदेश सुरक्षा बैठकमा ‘कोशीका सीमावर्ती नाकाहरूबाट तस्करी धन्दा चलिरहेको’ बताएका थिए । उनले ३० दिनभित्र ‘देखिने र अनुभूति हुने गरी तस्करी नियन्त्रण गर्न’ सुरक्षा निकायलाई निर्देशन समेत दिएका थिए ।

गृहमन्त्रीले नै तस्करी बढेको भनेपछि सशस्त्र प्रहरीले सीमावर्ती नाकामा कार्यरत मोरङका एक प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक तथा सुनसरीका एक प्रहरी निरीक्षकलाई परिवर्तन गरिसकेको छ ।

कांकडभिट्टा नाकाबाट भने अवैध मालसामान बोकेका तीनवटा भारतीय कन्टेनर (ट्रक) नै नेपाल छिरेपछि झापामा रहेका सुरक्षा निकायप्रति प्रश्न खडा भएको हो । कांकडभिट्टा नाका कटेपछि नेपाल प्रहरीको टोली र त्यहाँबाट पनि कटेपछि जोरसिमलमा सशस्त्र प्रहरीको अर्को टोली व्यक्तिले बोकेर ल्याउने माल सामान जाँच्न तैनाथ हुने गरेको छ । त्यस्तै धुलाबारी र चारआली समेतमा सुरक्षा निकाय रहने गरेको छ ।

यतिको चेकजाँच हुँदा पनि आइतवार राति तीनवटा भारतीय कन्टेनर नेपाल भित्रिदा मेची भन्सार र सुरक्षा निकायले के गरे भन्ने प्रश्न उठेको छ । 

कांकरभिट्टा भन्सारबाट निर्वाध छिरेका तीनवटै भारतीय कन्टेनर विर्तामोड आइपुगेपछि मात्रै शंकास्पद लागेर चेकजाँच भएको खुलेको छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय झापाबाटै प्रहरी टोली विर्तामोड आइपुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित नागरमोड नजिक पूर्व–पश्चिम राजमार्गमा भारतको कांकडभिट्टाबाट नेपाल प्रवेश गरिरहेका कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो ।

एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका ती कन्टेनरमा तीन करोड ६१ लाख मूल्य बराबरको कम्बाइन हार्भेस्टरसहितका कृषि औजार लुकाएर ल्याएको पाइएको प्रहरी स्रोतले जनाएको छ । 

त्यसरी बरामद भएका कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए ।

यसैबीच प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको चेकप्वाइन्ट टोलीले विराटनगर महानगरपालिका–१५ बाट करीव तीन किलो चाँदी बरामद गरेको छ । भारतबाट आएका व्यक्तिले शंकास्पद रुपमा बोकेर ल्याएको हाते झोला चेकजाँच गर्दा चाँदीका गरगहना बरामद गरेको जनाइएको छ ।

प्रहरीलाई देखेपछि ती व्यक्ति भने झोला छाडेर भारततर्फ फरार भएको जनाइएको छ । उक्त चाँदीलाई सुनचाँदी व्यवसायी संघ विराटनगरमा शुद्धता परीक्षण र तौल मापन गर्दा २ किलो १११ ग्राम चाँदी नै भएको खुलेको छ ।

बरामद भएको २ लाख ११ हजार १७९ रुपैयाँ बराबरको चाँदी भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।

View : 125

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved