फाइल फोटो ।
विराटनगर । घरनजिकैको आकाशबाट चर्को आवाजसहित विमान उडेपछि विराटनगर–४ बरगाछीका सुिनल पौडेलको निद्रा खल्बलियो । घडी हेर्दा बिहानको साढे १ भएको थियो ।
‘विराटनगरमा पनि रातभरि प्लेन उड्न थालेछ’, पौडेलले भने ‘यसअघि त्यति अबेरसम्म प्लेन उडेको थाहा थिएन ।’ विराटनगर विमानस्थल नजिकका बासिन्दा पौडेलले भने जस्तै गएको मंगलबार यता विराटनगर विमानस्थल रातैभरीजसो खुला छ । यो क्रम अरु केही दिन लम्बिने निश्चित भएको विमानस्थलको भनाइ छ ।
चाडपर्वको मुखैमा निम्तिएको प्राकृतिक विपद्ले राजमार्गहरू अवरुद्ध भएपछि यात्रुको चाप हवाइमार्गतिर मोडिएको छ । दशैँको मुखैमा काठमाडौंबाट ह्वारह्वारर्ती पूर्वतिर ओइरिने सर्वसाधारणको भीड विमानतिर लागेपछि त्यसले विराटनगर विमानस्थललाई रातभरी जसो व्यस्त बनाइरहेको छ ।
‘तीन दिन भयो, राति डेढदेखि दुई बजेसम्म फ्लाइट भइरहेको छ’, विराटनगर विमानस्थलका प्रमुख सुवास झाले बिहीबार उद्घोषसँग भने ‘यात्रुको चाप पहिलेभन्दा दोब्बर बढेको छ । विमानहरू आउनै पनि ढिला हुने गरेकाले राति अबेरसम्म सेवा सुचारु गर्नुपर्ने बाध्यता छ ।’
प्रमुख झाका अनुसार विपद्अघि दैनिक १५ वटा विमानले विराटनगर विमानस्थलबाट नियमित उडान भर्थे । शनिबार र मंगलबार यो संख्या कम हुन्थ्यो । बाढीपहिरोपछि अहिले विराटनगरमा दैनिक १८ वटासम्म विमानले उडान भरिरहेका छन् ।
नियमितभन्दा तीन वटा विमान मात्रै थपिदा पनि विमानस्थल रातैभरी व्यस्त हुने अवस्था कसरी आयो ? विमानस्थल प्रमुख झाका अनुसार यो विराटनगरभन्दा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलकै कारणले भएको हो ।
‘अहिले यात्रुको चाप बढेपछि काठमाडौंबाट देशैभरी उड्ने विमान सेवा थपिएको छ । तर, रन वे भने एउटा मात्रै छ । त्यसैले विमानहरूलाई रनवेमा पालो पाउनै मुश्किल हुन्छ’, झाले भने ‘त्यसबाहेक मौसमी प्रतिकूलता, एयर ट्राफिक लगायतका समस्याले पनि फ्लाइट हुन ढिला भइरहेको हुन्छ । यही कारण विमान निर्धारित समयभन्दा दुईदेखि तीन घन्टा ढिलो उडिरहेका छन् । तालिकाअनुसार विमान उड्न पाएका छैनन् ।’
तालिकामा उड्न नपाएपछि पछि धकेलिने उडानकै कारण राति अबेरसम्म विमानस्थल व्यस्त बनिरहेको छ । प्रमुख झाले दिएको जानकारीअनुसार बिहीबार पनि सबैजसो विमान दुई घन्टादेखि तीन घन्टासम्म ढिलो भएका छन् । यसरी ढिला हुँदै गएपछि साँझ अबेर पालोमा पर्ने जहाज राति अबेर मात्रै उड्न पाउने अवस्था छ ।
काठमाडौं विमानस्थलमा एउटा मात्रै रन वे हुनुको बाध्यता एकातिर छ भने चाडपर्वको मुखैमा विपद्ले थपेको यात्रु संख्या अनि पर्यटनको सिजन भएकाले पनि भीडभाड धेरै छ । काठमाडौंमा बढेको भीडको सोझो असर विराटनगरसहित देशैभरीका विमानस्थलमा देखिने गरेको छ ।
अहिले विराटनगर विमानस्थलबाट बुद्ध एयरले दैनिक ८ देखि ९ वटासम्म उडान भरिरहेको छ भने यतिले दैनिक ५ वटा र श्री एयरलाइन्सले दैनिक ४ वटा उडान गरिरहेका छन् । ‘चाडपर्वको मुखैमा बाटोहरू बन्द हुँदा र जोखिम बढेका कारण यात्रुको चाप दोब्बर बढेपछि त्यसको असर सबैतिर देखिएको छ’, झाले थपे ‘दशैँको पूर्णिमासम्मै यस्तै अवस्था हुने अनुमान छ ।’
उनका अनुसार अरुबेला बिहान ६ बजे मात्रै खुल्ने विराटनगर विमानस्थल अहिले बिहान ५ बजे नै खुल्न थालिसकेको छ । बिहान सबेरै खुल्ने विमानस्थल राति कतिबेला बन्द हुन्छ भन्ने केही टुंगो हुन छाडेको झाले बताए । अहिले विमानस्थलमा दोब्बर बढेको यात्रु संख्याले विमानस्थल व्यवस्थापनमा पनि सकस भइरहेको छ ।
‘धेरै यात्रुहरू उडान समयमा नै आइपुग्नुहुन्छ विमान ढिला हुने भएपछि विमानस्थलमा अर्को अर्को गर्दै धेरै जहाजका यात्रु भेला भइसक्नुभएको हुन्छ’, प्रमुख झाले भने ‘यसले विमानस्थलमा भीड बढाएको छ । थाम्नै नसक्ने अवस्था अहिलेसम्म सिर्जना भइहालेको छैन । तर, अरु बेलाभन्दा भीड ज्यादै बढेको छ ।’
View : 316
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved