विराटनगर । मनमोहन प्राविधिक विश्व विद्यालयले अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई नै सद्भावना दूत (ब्रान्ड एम्बासडर) बनाउने अभियान सुरू गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले विभिन्न संकायका विद्यार्थीहरूका अभिभावकहरूलाई सद्भावना दूत घोषणा गरी विश्व विद्यालयको पठनपाठनको गुणस्तर र अनुभवबारे प्रचार–प्रसार गराउने नीति लिएको हो ।
रजिष्ट्रार डा दिलनाथ फुयालका अनुसार विश्व विद्यालयमा भर्ना हुने, परीक्षापास गर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कार्यक्रममा कम्तीमा एक जना अभिभावकको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ ।
सो अवसरमा सम्बन्धित स्कुल र संकायहरूले विद्यार्थीको अध्ययन गुणस्तर, समस्याहरू र विश्वविद्यालयको सेवा–व्यवहारका बारेमा अभिभावकहरूसँग समीक्षात्मक अन्तरक्रिया गर्ने गरेका छन् ।
मनमोहन विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङका डीन प्रा प्रचण्डमान प्रधानका अनुसार परीक्षा र पठनपाठनमा कुनै सम्झौता नगरेकाले विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हाँसिल गर्दै आएका छन् ।
कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले २०७८ देखि स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ मेडिकल र स्कुल अफ हेल्थ एन्ड एप्लाइड साइन्समार्फत स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा अध्ययन गराउँदै आएको छ ।
View : 354
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved