किन ढाँट्छन् देशकै प्रधानमन्त्री
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्दै प्रेस चौतारी नेपालले कार्यक्रमस्थलमा राखेको ब्यानर ।
विराटनगर । मुलुकका कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कार्यक्रमहरूमा आउँछु भनेर वचन दिनु र अन्तिम समयमा उनी नआउनु सामन्य हुन थालेको छ । यतिसम्म कि आयोजकहरूले अघिल्लो दिनसम्म प्रधानमन्त्री आउने भनेर प्रचार गरेको पूर्वनिर्धारित कार्यक्रममा ओलीले आउने वा नआउने सोही दिन पनि अन्तिम समयमा मात्र टुङ्गो दिने गरेको पाइएको छ ।
यसको उदाहरणका रुपमा आइतबार विराटनगरमा सुरु भएको नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको दशौं महाधिवेशनलाई लिन सकिन्छ । उक्त महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नै आउने भनेर कार्यक्रमको केही घण्टाअघिसम्म प्रचार गरिएको थियो । आयोजकहरू आइतबार बिहानसम्म महाधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले नै गर्ने बताइरहेका थिए । तर, अन्तिम समयमा कार्यक्रममा ओली नआएर उनले पार्टी महासचिव शंकर पोखरेललाई पठाए ।
विराटनगरको होटल मनास्लु इनमा सुरु भएको महाधिवेशनको उद्घाटन महासचिव पोखरेलले दिउँसो दुई बजे गरेका थिए । यद्यपि उद्घाटन कार्यक्रम बिहान ११ बजे नै हुने भनिएको थियो । ओली आउने वा नआउने बेटुङ्गो भएकै कारणले उद्घाटन कार्यक्रम ढिलो सुरु भएको आयोजक कमिटीका एक पदाधिकारीले बताए । कार्यक्रममा आउँछु भनेर टुङ्गोटाङ्गी गर्ने तर मुड चले आउने नभए नआउने प्रधानमन्त्री ओलीका हकमा विराटनगरको यो पहिलो कार्यक्रम भने होइन । आउँछु भनेर वचन दिने तर नआइदिएर आयोजकलाई खिन्न पार्ने काम प्रधानमन्त्री ओलीबाट थुप्रै पटक भएका छन् ।
गत फागुन १७ गते सोही होटल मनास्लु इनमा नेकपा एमाले मोरङको पनि दशौं जिल्ला अधिवेशन भएको थियो । उक्त अधिवेशनको अघिल्लो दिनसम्म आयोजक कमिटीका संयोजक बाबुराम कार्कीले पत्रकार सम्मेलनमा अधिवेशनको उद्घाटन प्रधानमन्त्री ओलीले नै गर्ने बताएका थिए । तर, उक्त कार्यक्रममा पनि ओली नआई उनले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई पठाए ।
प्रधानमन्त्री ओली आफ्नो पार्टीका कार्यक्रममा मात्रै आउँछु भनेर नआउने गरेका छैनन् । सरकारी, गैरसकारी, सामाजिक एवम् व्यापारिक संस्थाका महत्वपूर्ण कार्यक्रममा पनि आउँछु भनेर वचन दिन्छन् तर भनेका दिन उनी आई दिंदैनन् । उनका लागि कार्यक्रममा आउँछु भनेर वचन दिनु तर नआएर ढाँट्नु सामन्य भएको धेरैको बुझाइ छ । यहाँसम्म कि विराटनगरका उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङले प्रधानमन्त्री ओलीको समयतालिकासँग मिल्नेगरी उद्घाटन कार्यक्रम समायोजन गर्दासमेत ओली नआएर आयोजकलाई आर्थिक क्षति पुर्याएको उदाहरण छ ।
उद्योग संगठन मोरङले गत माघ ११-२० मा व्यापारिक महोत्सवको आयोजना गरेको थियो । सुरुमा आयोजकले प्रधानमन्त्री ओलीको सचिवालयसँग समय लिई माघ ११ गते शुक्रबार महोत्सवको उद्घाटनको तयारी गरेका थिए । तर, त्यही बेला एक दिन पर सार्नू पर्यो भनेर सचिवालयबाट आएको निर्देशन पालना गर्दै आयोजक उद्योग संगठन मोरङले उद्घाटन शनिबार हुनेगरी प्रधानमन्त्री ओलीको नाम राखेर निम्तापत्र बाँड्यो । तर आफैले अनुकूल हुनेगरी समय सार्न लगाएको दिन पनि ओली आएनन् ।
उनले आफ्नो सट्टा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई महोत्सव उद्घाटन गर्न लगाए । यद्यपि उद्योगी व्यवसायीको कार्यक्रम भएकाले अर्थमन्त्री पौडेल प्रधानमन्त्रीसँगै पहिल्यै निम्ताइएका थिए । उक्त महोत्सव एक दिन पछि उद्घाटन गर्नुपर्दा आयोजकहरूले केही नोक्सानी पनि व्योहोर्नुपरेको थियो । त्यसको केही महिनाअघि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको कृषि मेलाको उद्घाटन गर्न पनि प्रधानमन्त्री ओलीले वचन दिएका थिए । तर उनी आफ्नो वचनविपरीत र आफ्नो स्वभावअनुसार उक्त कार्यक्रममा आउँदै आएनन् ।
विभिन्न विश्वविद्यालयका पदेन कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहजस्ता महत्वपूर्ण कार्यक्रममा पनि आउने वा नआउने वा ढिलो आएर समयको लापरवाह गर्ने गरेका छन् । गत फागुन २७ गते मोरङको गोठगाउँमा भएको पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली आउन त आए, तर तोकिएको समयभन्दा निकै ढिलो आए । उनले त्यसबेला पुराण तथा शास्त्रका कुरा गरेर विद्यार्थीलाई हाइ काढ्ने र आधा कुर्सी छाड्ने बनाएका थिए ।
प्रधानमन्त्री ओलीको ढाँटको सिकार विराटनगरका आयोजकमात्र भएका छैनन् । सुनसरीको धरानमा पनि यसै साता प्रधानमन्त्री ओलीले आफू आउँछु भनेर नआएर ढाँटेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा धरान बिजयपुरस्थित पिण्डेश्वर विद्यापीठको नवनिर्मित भवन चैत ६ गते बुधबार समुद्घाटन हुने भनेर निम्ता बाँडिएकोमा उक्त पूर्वनिर्धारित कार्यक्रममा पनि ओली आएनन् । आयोजकका अनुसार, प्रधानमन्त्री कार्यालयको सचिवालयसँग समय टुङ्गो गरेरै निम्तापत्र छापिएको र बाँडिएको थियो । उक्त कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले अन्तिम समयमा आफू नआउने जानकारी गराएर आयोजकको मन खिन्न पार्ने काम गरेका थिए ।
View : 466
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved