विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा आफ्नो पार्टी अनिवार्य सहभागी हुने स्पष्ट पारेका छन् । निर्वाचन लोकतन्त्रको मूल अभ्यास भएकाले यसबाट पछि नहट्ने उनले बताए ।
शनिबार विराटनगरमा जसपा कोशी प्रदेश समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा भाग लिनुका साथै पार्टीले आन्दोलन र संगठन विस्तारका कार्यक्रमसमेत अघि बढाउने घोषणा गरे ।
अध्यक्ष यादवले मुलुकमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरी ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ प्रणालीमा जानुपर्ने सुझाव दिए । विगत ३५ वर्षदेखि सत्ता सम्हालेका ठूला दलहरूको कुशासनका कारण देशमा आर्थिक सङ्कट बढेको, उद्योगधन्दा बन्द भएको र युवाहरू विदेश पलायन हुन बाध्य भएको उनको आरोप थियो ।
कार्यक्रममा अध्यक्ष यादव र सहअध्यक्ष रकम चेम्जोङले भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ का क्रममा १९ जना युवाको ज्यान जानु अमानवीय भएको बताए ।
युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।
जनसभामा प्रदेश अध्यक्ष दीपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई र जिल्ला अध्यक्ष राजकुमार यादव लगायतले पनि वर्तमान राजनीतिक संकट र आगामी कार्यदिशाबारे धारणा राखेका थिए ।
View : 88
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved