काठमाडौँ, १४ कात्तिक । नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवत्लाई प्रचारप्रसारलगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो ।
समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाले ९३७ सालमा गरिब जनताको ऋणमोचन गराई प्रचलनमा ल्याएको नेपाल संवत्को मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिए ।
उनले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने संवत् नेपालबाट सुरु भएकाले प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
समितिले यही कत्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित सङ्घसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ ।
उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यताको घोषणा गरेको थियो ।
समितिद्वारा अन्तक्र्रिया, गोष्ठी, शुभकामना आदानप्रदानलगायत कार्य गरिएको छ । रासस
View : 392
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved