विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालले यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै अत्याधुनिक वार्ड औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले विशेष कार्यक्रम आयोजना गर्दै पाँचौ तल्लामा ७० बेडको नयाँ वार्ड औपचारिक रूपमा शुभारम्भ गरेको हो ।
मूत्र प्रणाली, पुरुष प्रजनन् स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्माण गरिएको सो वार्डमा अत्याधुनिक ७० वटा बेडको व्यवस्था गरिएको छ ।
आधुनिक शल्यक्रिया कक्ष, एडभान्स डायग्नोस्टिक उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालित यो वार्डले पूर्वी नेपालका बिरामीहरूलाई काठमाडौं नगई स्थानीय स्तरमै विश्वस्तरीय उपचार सेवा उपलब्ध गराउने अस्पतालको विश्वास रहेको छ ।
बिराट मेडिकल कलेज टिचिङ अस्पतालका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की, वरिष्ठ युरो सर्जन डा. चन्द्र शेखर (सि.एस.) अग्रवाल, प्रा.डा. दीपककुमार ठाकुर र डा. इमरान अन्सारीले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका थिए ।
यसअघि यूरोलोजी र सर्जरीका बिरामीहरूलाई एउटै वार्डमा राखिने गरिन्थ्यो, जसका कारण बिरामी व्यवस्थापन र विशेषज्ञ सेवामा केही असहजता हुने गरेको थियो ।
अब यूरोलोजी, एन्ड्रोलोजी र रेनल ट्रान्सप्लान्टका तीनवटै सेवा एकै छाना मुनि उपलब्ध हुने भएकाले विभागहरूबीच समन्वय थप सहज हुने, र बिरामीले झन्झटरहित एकीकृत उपचार पाउने वरिष्ठ युरो सर्जन प्रा.डा. दीपक ठाकुरले बताए ।
अस्पतालमा हाल दूरबिन र लेजर प्रविधिमार्फत शल्यक्रिया हुँदै आएको छ । आगामी दिनमा मिर्गौला प्रत्यारोपण र रोबोटिक सर्जरी सेवा पनि सुरु गर्ने लक्ष्य रहेको प्राडा ठाकुरले जानकारी दिए ।
View : 136
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved