Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

‘सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ’

उद्‌घोष संवाददाता
२६ भदौ २०८१, बुधवार

Advertisement

धनकुटा, २६ भदौ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताएका छन् ।

नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज धनकुटाबजारमा आयोजित ‘बधाई तथा भेटघाट’ कार्यक्रममा उनले हिजो अलपत्र परेका ठूला जलविद्युत् आयोजनालाई सरकारले अगाडि बढाएको हो भने । “ऊर्जा क्षेत्रबाट मात्र मुलुकको विकास सम्भव छ, सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरेर २० हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने लक्ष्य लिएको छ,” उनले भने ।

ऊर्जामन्त्री खड्काले गरिब र विपन्न वर्गलाई आर्थिक हिसाबले समृद्ध बढाउनका लागि वर्तमान सरकारले काम गर्ने बताए । उनले स्थानीय तहमा आउने बजेट कार्यान्वयन भए नभएकोबारे जनता चनाखो हुनुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसले जनतालाई अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले जनताको आवश्यकताका लागि दुई ठूला दल मिलेर सरकार बनेकाले यो सरकारलाई विकास निर्माणमा पछाडि फर्कने छुट नभएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोलले धनकुटाको विकासमा सहयोग गर्न मन्त्री खड्कालाई आग्रह गरे । उनले धनकुटामा ऊर्जा र सिँचाइका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यता रहेकाले यसलाई पूरा गर्नका लागि केन्द्र सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।  रासस

View : 356

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved