Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ प्रहरीले सामानसहितका दुईवटा ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धानमा बुझायो

ट्रक नियन्त्रणमा परेर अनुसन्धानको घेरामा तानिएपछि व्यवसायीहरुले भने प्रहरीले अनुसन्धानका नाममा अधिकार नाघेर अनावश्यक दुःख दिएको आरोप लगाएका छन् ।
उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर । भन्सारबाट राजश्व तिरेर नेपाल प्रवेश गरेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले विराटनगरमा नियन्त्रणमा लिएको छ । दुवै ट्रक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइसकिएको प्रहरीले जनाएको छ ।

भारतबाट भान्सा, घर र कृषिमा प्रयोग हुने सामग्री लिएर नेपाल आएका दुई वटा ट्रक सोमबार बेलुका प्रहरीले विराटनगर–१४ मा रोकेको थियो । ती ट्रकहरुलाई सामानसहित मंगलबार बिहान राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । 

ट्रक नियन्त्रणमा परेर अनुसन्धानको घेरामा तानिएपछि व्यवसायीहरुले भने प्रहरीले अनुसन्धानका नाममा अधिकार नाघेर अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । 

प्रनाउ उपरीक्षक बस्नेतका अनुसार भन्सार छलीका वस्तु रहेको सूचनाका आधारमा प्रदेश १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरका दुई वटा ट्रक नियन्त्रणमा लिइएको हो ।

ट्रक र त्यसमा लोड गरिएका मालवस्तुसहित एक करोड ३५ लाख रुपैयाँ मूल्याङ्कन गरी राजश्व अनुसन्धानमा बुझाइएको उनले जानकारी दिए । ट्रकमा बिल बिजकभन्दा कम मूल्याङ्कन भएका सामानहरु रहेको प्रनाउ बस्नेतको भनाइ छ ।

ट्रक नियन्त्रणपछि दशैंको पूर्व सन्ध्यामा प्रहरीले अनुसन्धानको अधिकार नाघेर  दुःख दिन खोजेको व्यवसायीले आरोप लगाएका छन् । भन्सार एजेन्ट तथा व्यवसायी अरुण खेतानले प्रहरीले कार्यक्षेत्र नाघेर चाडवाडको बेलामा ब्यवसायीलाई दुःख दिएको आरोप लगाए । 

‘प्रहरीले वस्तुको बिलबिजक मागेन, राति साढे दुई घण्टा त्यसै सडकमा रोकेर राख्यो’ उनले भने ।

खेतानका अनुसार प्रहरीको सीआरभी भ्यानले ट्रक रोकेर राति साढे ९ बजेसम्म सडकमै राख्यो, इन्स्पेक्टर साब आएर बील हेर्ने बताइयो तर, कोही पनि आएनन् । राति जिल्ला प्रहरी कार्यालयमा लगेर ट्रक राखिएको थियो । 

बिहान १० बजे प्रहरीले दुबै ट्रक इटहरी लगेको थियो । भन्सार स्रोतका अनुसार ट्रक रोक्ने प्रहरी राति अबेरसम्म माथिको आदेश मात्रै भनिरहेका थिए ।

ट्रक नियन्त्रणमा लिने माथिको आदेश बताउने तल्लो तहका प्रहरी कर्मचारीमात्रै थिए । ट्रकमा हर्ष इन्टरप्राइजेज विराटनगरले ६० लाख रुपैयाँ मूल्यका सामग्री भारतबाट ल्याएको जनाइएको छ । 

भन्सार एजेन्ट खेतानले भन्सार पास भएको सामान मूल्याङ्कन र पूरा दरबन्दीको रहेको बताएका छन् । प्रहरीले सामानको बिल हेरेर छाडिने भन्दै राति अबेरसम्म सडकमा रोकेर कार्यालयमा लगेको बताए ।

भन्सारपास भएका सामान बोकेको मालबाहक साधनको कागजात मात्रै प्रहरीलाई हेर्न अधिकार छ । भन्सारपास भएका वस्तुको बिल हेर्ने अधिकार प्रहरीलाई नभएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सामान बोकेको साधन रोकिए सम्बन्धित धनीलाई बोलाएर प्रहरीले जनाउ दिनु पर्ने बताए । 

अनुसन्धान गर्ने क्रममा सामानधनी या राजश्व अनुसन्धान खोज्न रातिको समय भएकाले सम्भव नभएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीको भनाइ छ । 

प्रहरीलाई भन्सार पास भएको सामानको बील बिजक जाँच गर्ने अधिकार नभएको र राति सम्बन्धित निकाय खुल्ला नहुने भएकाले बिहान राजश्व अनुसन्धानमा पठाइएको कार्कीले बताए ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved