Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

औद्योगिक क्षेत्रका समस्याको मन्थन गर्न ‘बिज टक’

उद्‌घोष सम्वाददाता
१८ मंसिर २०८०, सोमवार

विराटनगर : मोरङ व्यापार संघले मुलुकको वर्तमान अवस्थामा औद्योगिक व्यवसायिक क्षेत्रका समस्या समाधानका लागि दुई अर्थविदहरुसँग छलफल गरेको छ । आइतबार संघको सभाहलमा पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य डा. युवराज खतिवडा र पूर्व रक्षामन्त्री एवं नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग ‘बिज टक’ सम्वाद गरेको हो ।

छलफलका क्रममा डा. खतिवडाले अर्थतन्त्र संकटमा भएपनि अहिले सुधारोन्मुख अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रका केही परिसूचकहरु ठिक देखिएको बताए । तर त्यसलाई आत्मसात गर्न उद्योगी व्यवसायीहरुको मनोबल भने नबढेको दाबी गरे । मुलुकको अर्थतन्त्र अहिले बटम लाइनमा पुगेकोले यहाँभन्दा तल जाने ठाउँ नभएको डा. खतिवडाले बताए ।

‘अर्थतन्त्र संकटोन्मुख छ भन्ने कुरा एक वर्षअघि नै भनिएको हो, अहिले अलिक सुधारोन्मुख अवस्थामा छौं’ डा. खतिवडाले भने, ‘अहिले केही परिसूचकहरु ठिक छ भन्नका लागि सिर्जना भएका छन्, तर त्यसलाई आत्मसात गर्न व्यवसायीहरुको मनोबल बढेको पाइदैन ।’

उनले व्यवसायमा लागत बढ्ने क्रम नरोकिएको बताए । पछिल्लो पटक सुरक्षा र ढुवानीमा लागत बृद्धि भएको तर उत्पादन र निर्यात भने बढ्न नसकेको दाबी गरे । त्यसको समाधान अर्थ मन्त्रालयले गर्नुपर्ने भएपति मन्त्रालय र निजी क्षेत्रबीच तालमेल नमिलेको बताए । डा.खतिवडाले सवै कुरामा निरास बन्न नहुने भएपनि सरकारको प्राथमिकता भने अन्तै गएको आरोप लगाए ।

‘सरकारको प्राथमिकता अन्तै गएको हो कि भन्ने देखिन्छ, गठबन्धन मिलाउनतिर वा कता गएको हो’ उनले भने, ‘यस्तो सधैं रहिरहँदैन, कि पोलिटिक्सले नयाँ कोर्स लिन्छ कि इकोनोमीले ।’ 
खतिवडाका अनुसार बैंकहरुले पनि हौसिएर लगानी गरेका कारण समस्या उत्पन्न भएको बताए ।

अब पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले केन्द्रीय बैंकले पनि गल्ती गरेकोले अब त्यस्तो गल्ती नहुने कुराको सिकाइ भएको आफूलाई विश्वास रहेको बताए ।

आर्थिक क्षेत्रको चर्चा गर्दै डा. रिजालले मुलुकको अर्थतन्त्रको विकासमा केही नभएको भन्ने कुरा गर्न नहुने बताए । उनले लोकतन्त्रको स्थापना पछि विकासको गति बढेको दाबी गरे । यही अवधिमा नेपालीहरुको आयु १७ बर्षले बढेको, सरकारले प्राप्त गर्ने राजस्वको आकार सतप्रतिशतले बढेको बताए ।

‘हिजोभन्दा आज खराब भयो भन्ने होइन, आज देखिएको समस्या भए त्यो समस्या समाधानका लागि लाग्नुपर्छ, किनभने आजको अवस्थामा नेपालीको आयु बढेको छ, नेपाल सरकारले प्राप्त गर्ने राजस्व सय गुणा बढेको छ, अर्थतन्त्रमा प्राप्त गर्ने रकम ५० गुणाले बढेको छ’ उनले भने, ‘८/९ वर्षमा नेपालको शासन प्रणाली बिग्रिएका कारण केही समस्या देखिएको मात्रै हो ।’ 

डा. रिजालले मुलुकभित्र उपभोगवादी प्रवृत्ति बढेको बताए । तर त्यो उपभोग खाडीमा गएका नेपालीले पठाएको पैसाबाट बढिरहेको दाबी गरे । साथै उनीहरुले पठाएको पैसालाई खर्च गरेर त्यसैमा आधारित भएर सरकारले पनि राजस्व संकलन गर्ने काम गरिरहेको बताए । उनले आफैं कमाएर गर्ने खर्च कम भएको टिप्पणी गरे ।

औद्योगिक एवं आर्थिक क्षेत्रका समस्या सुनाउँदै मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले देशमा लामो आर्थिक मन्दी चलिरहेको दाबी गरे । उनले बैंकको चर्को ब्याजबाट निजी क्षेत्र तर्सिएको बताए । सोही कारण निजी क्षेत्र बालुवाटारसम्म पुग्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

‘देशमा लामो आर्थिक मन्दी चलेको छ, बैंकको चर्को ब्याजबाट निजी क्षेत्र तर्सिएका छन्’ रिजालले भने, ‘प्रमुख पार्टीहरुले ३४ वर्षदेखि देश हाँकिरहेका छन् तर देशको हैसियत बढेन, निजी क्षेत्र अझैपनि कसरी अघि बढ्ने भन्नेमा छौं ।’

उनले निजी क्षेत्रबाट पनि कमजोरीहरु हुने गरेको स्वीकार गरे । ‘नगर्ने कुराहरु केही हामीले पनि गर्‍यौं होला, त्यसको जिम्मेवारी लिन चाहन्छौं’ उनले भने । एक घण्टा चलेको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आर्थिक क्षेत्रको विकासका लागि गर्न सकिने प्रयासहरुबारे सुझावहरु दिएका थिए ।

View : 151

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved