Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

शेखरलाई असजिलो बन्दै गएको कांग्रेस समीकरण

गगन निकट मानिने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका भनाइमा ‘गगन थापा आउँदो महाधिवेशनबाट मुख्य नेतृत्वमा स्थापित हुने अभियानमा घोषित रुपमै सामेल भइसकेका छन् ।’ आफै सभापति बन्ने दौडमा लागेको नेताले अर्को नेतालाई साथ दिने सम्भावना नहुने गगन निकटहरुको भनाइ छ ।
उद्‌घोष सम्वाददाता
३ चैत २०८१, आइतवार

विराटनगर । जबजब शेखर कोइराला विराटनगर आउँछन्, कोशी अस्पताल अगाडि रहेको कोइराला निवास केही दिनलाई गुल्जार बन्ने गर्छ । 

मोरङ कांग्रेसमा बलियो पकड रहेका कोइराला पक्षका नेता–कार्यकर्ताहरुको त्यो उपस्थितिमा पछिल्लो समय आउँदो महाधिवेशनकै बारे धेरै चर्चा हुन थालेको छ । 

कांग्रेसमा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका नेता कोइराला पछिल्लो समय देश दौडाहामा छन् । १५ औं महाधिवेशनबाट सभापति बन्ने लक्ष्यसहित मेची महाकाली र तराईदेखि हिमालसम्म पुगिरहेका उनका लागि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन भने पेचिलो बन्दै गएको छ । 

कोइराला निवासमा हुने बाक्लो जमघटमा यस्तो विषयमा विमर्श त हुँदैन तर कोइराला पक्षका बहुसंख्यक नेता–कार्यकर्ताहरुले यसबारे चिन्ता भने जाहेर गर्न थालिसकेका छन् । 

आन्तरिक छलफल र बैठकहरुमा व्यक्त हुने मुख्य चिन्ता के हो  त भन्ने बारे प्रश्न गर्दा नेताहरु ‘टिममा कुनै चिन्ता नभएको बरु उत्साह बढेको’ दाबी गर्छन् । 

‘टिममा कुनै समस्या र चिन्ता छैन, हामी उत्साही बनेर देशव्यापी अभियानमा छौं’, कोइराला निकट कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको दाबी छ ‘मेचीदेखि महाकालीसम्म सकारात्मक उत्साहको माहोल छ ।’ 

कार्कीले बारम्बार यस्तो दाबी दोहोर्‍याइरहे पनि शेखर नेतृत्वको टिमले पछिल्लो समय चिन्ता मानेको विषय हो महामन्त्री गगन थापाको टिमबाट भएको बहिर्गमन । त्यसो त शेखर र गगन दुवैले ‘हामी अलग बनेको’ भनेर घोषणा गरेका छैनन् । यद्यपि उनीहरुको पछिल्ला गतिविधि र अभिव्यक्तिहरुले उनीहरु साथमा पनि छैनन् भन्ने अनुमान गर्न कठिन छैन । पार्टीको  १४ औं महाधिवेशनमा डा कोइराला र महामन्त्री थापा एकै समूहमा थिए । 

शेखर सभापतिमा र गगन महामन्त्रीमा प्रतिष्पर्धा गर्दा शेखरले सफलता पाउन सकेनन्, गगन लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित भए । 

यसअघिको महाधिवेशनमा भाइ सशांक र बहिनी सुजाताकोसमेत साथ नपाएका शेखरले यसपटक सुजातालाई भने बेलैमा आफ्नो पक्षमा ल्याइसकेका छन् । 

सुजातालाई आफ्नो पक्षमा उभ्याउने सफलता पाएका कोइरालाले महामन्त्री थापाको साथ भने लगभग गुमाइसकेका छन् । शेखर आगामी महाधिवेशनबाट सभापति बन्ने दौडमा लाग्दा गगन आफै पनि त्यही लक्ष्यमा छन् । दुवै जनाको लक्ष्य एकै भएपछि स्वाभाविक रुपमा उनीहरु एकै टिममा रहन नसक्ने कांग्रेस नेताहरु बताउँछन् । 

गगन निकट मानिने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका भनाइमा ‘गगन थापा आउँदो महाधिवेशनबाट मुख्य नेतृत्वमा स्थापित हुने अभियानमा घोषित रुपमै सामेल भइसकेका छन् ।’ 

आफै सभापति बन्ने दौडमा लागेको नेताले अर्को नेतालाई साथ दिने सम्भावना नहुने गगन निकटहरुको भनाइ छ । 

गगनको साथ लगभग गुमाइसकेका शेखरले पछिल्लो समय अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई आफू नजिक बनाएका हुन् ? यो प्रश्नले पनि कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पछिल्लो समय बलियो स्थान बनाएको छ । 

खासगरी विभिन्न राजनीतिक मुद्दाहरुमा विराटनगरका शेखर र झापाका विश्वप्रकाशको मत मिल्न थालेको छ । 

एकै विषयमा दुई नेताले निरन्तर समान अभिव्यक्ति दिन थालेपछि शेखर र विश्वप्रकाश नजिकिएको अनुमान बढेको हो । 

१४ औं महाधिवेशन अघिसम्म  शेखर र गगन एकै मुख जस्ता सुनिन्थे । तर, २०७९ को चुनाव लगत्तै गगनले सबैलाई चुनौती दिंदै संसदीय दलको नेतामा चुनाव लडे । शेखर पछि हट्न बाध्य भए । त्यसयता भने उनीहरुको कुरा मिल्न छाडेको छ । त्यसविपरित शेखर र विश्वप्रकाशको मत भने मिल्दै आएको देखिन्छ । 

कांग्रेसभित्र १५ औं महाधिवेशन बेलैमा गर्नुपर्ने एक सुत्रीय माग शेखरको छ । यसबारे गगन लामो समयदेखि मौन छन् । तर, महामन्त्री शर्माले भने महाधिवेशन पछाडि सार्न नमिल्ने अभिव्यक्ति दिएका छन् ।  

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले फागुन १९ र २० गते देशैभरीका क्षेत्रीय सभापतिहरुलाई  भैरहवामा भेला गराएर प्रशिक्षण दिएको थियो । 

त्यहीभेलामा  महामन्त्री शर्माले  १५ औं महाधिवेशन २०८३ वैशाखमा गर्नुपर्ने त्योभन्दा पछाडि लैजानै नहुने बताएका थिए । शर्माले यसो भनिरहँदा सभापति शेरबहादुर देउवा, अर्का महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइराला उनलाई सुनिरहेका थिए । 

जसरी शेखर समयमै महाधिवेशन गर्नुपर्छ भन्दै अभियानमा छन्, ठीक त्यसैगरी चुनावअघि महाधिवेशन गर्दा आन्तरिक प्रतिष्पर्धाका कारण आम निर्वाचनको परिणाममा असर पर्ने भन्दै शशांक कोइराला भने फरक मत राखिरहेका छन् । त्यसो त सभापति देउवाको क्याम्पमा रहेका शेखरका भाइ संशाक सोही क्याम्पबाट फेरि कांग्रेसको कुनै महत्वपूर्ण पद ताकिरहेका छन् । बेलाबेला उनी सभापति आफै हुने अभिव्यक्ति नै दिइरहेका छन् । 

आफ्नै भाइले महाधिवेशन मितिबारे चुनौती पेश गरिरहँदा शेखरले महाधिवेशनको मितिबारेमा भने विश्वप्रकाशको साथ पाएका छन् । 

शेखरले विश्वप्रकाशको साथ पाएको मुद्दा यो एउटा मात्रै भने होइन । भर्खरै मात्रै सरकारले पूर्व विशिष्टहरुलाई कानुन बनाएरै आजीवन सुविधा दिने तयारी गरिरहेको खबर बाहिरियो । 

शेखरले सबैभन्दा पहिले यसको प्रतिवाद मात्रै गरेनन् ‘विनाशकाले विपरित बुद्धि’ भन्दै कडा प्रतिक्रियासमेत दिएका छन् । महामन्त्री शर्माले पनि यसबारेमा सरकारले ठीक नगरेको अभिव्यक्ति ट्वीटर (एक्स) मार्फत सार्वजनिक गरेका छन् ।

शनिबार पाँचथरमा बोल्ने क्रममा अर्का महामन्त्री गगन थापाले पनि त्यस्तै अभिव्यक्ति दिएका छन् । उनले कानुन बनाएर सुरक्षा दिनुपर्ने तर पैसा दिन नहुने बताए । यो मामिलामा भने शेखर र गगनको मत पनि मिलेको छ । 

एकपछि अर्को मुद्दामा मत मिल्दै गएका शेखर र विश्वप्रकाश चाहिं आपसमा नजिकिएका हुन् ? ‘एकै पार्टीमा रहेका दुई नेताको समान धारणा हुँदैमा उहाँहरू एकै ठाउँ आइपुग्नुभयो भन्ने अर्थ लगाइहाल्नु हतारो हुन्छ’, शर्मा निकट एक केन्द्रीय सदस्यले भने ‘विश्वदाइ गगन थापालाई सभापति बनाउने एकसुत्रीय अभियानमा दृढ हुनुहुन्छ ।’ 

तर, शेखर पक्षीय नेताहरु भने समयक्रममा शर्मा र थापा फेरि कोइरालाकै नेतृत्वमा लामबद्ध हुन आइपुग्ने दाबी गर्छन् । 

‘अहिले दुवै महामन्त्रीलाई सभापतिले स्पेस दिएकाले उतै रमाइरहेका हुन्’, शेखर निकट ती नेताको भनाइ छ ‘जब देउवाले स्पेश कम दिन थाल्छन्, उनीहरु आउने हाम्रै टिममा हो । अहिले पनि गगन हामीभन्दा टाढा पुगिसकेका छैनन् ।’

View : 390

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved