Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

परोपकार धाममा पहिलो पटक गंगा आरती

सामुदायिक सद्भावको सन्देश प्रवाह भएको छ : मुख्यमन्त्री कार्की

उद्‌घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

विराटनगर । शुक्रबारदेखि विराटनगर महानगरपालिका–३ परोपकार धाममा गंगा आरती सुरु भएको छ ।

सिमलताल बस दुर्घटना, सौर्य एयरलाइन्सको जहाज दुर्घटना र डाईनेष्टी एयरको हेलिकप्टर दुर्घटना लगायतका विभिन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा शुक्रबार परमार्थ सिंघीया आरती सेवाद्वारा आयोजना गरिएको आरतीको अवलोकनका लागि सयौं सर्वसाधारण परोपकार धाम पुगेका थिए ।

आरतीको अवलोकनपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघीया नदीमा थालनी भएको आरतीले नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने बताए ।

आरतीको उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आरतीलाई ३६५ दिन नियमित संचालनका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुख्यमन्त्री कार्कीले परोपकार धाम घाटको समेत आवश्यक जीर्णोद्धार एवं थप भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनले आरती संचालनले धार्मिक पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

परोपकार धाममा शुक्रबारदेखि सोमबारसम्म हरेक दिन साँझ ५ः३० बजे आरतीको कार्यक्रम हुने जनाइएको छ ।

चार दिनको आरती पछि हरेक शुक्रबार साँझ नियमित रुपमा आरती कार्यक्रम गरिने कार्यक्रममा जनाइएको हो ।

उक्त अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित विराटनगरका विभिन्न वडाका वडाअध्यक्ष, कटहरी, वुढीगंगा, ग्रामथान गाउँपालिका र छिमेकी भारतीय शहरका धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

४५ मिनेटको आरती कार्यक्रमका लागि एक सय ५० सदस्यीय महिला भजन मण्डलीले सहभागिता सहभागिता जनाएको थियो ।

सिंघीया आरतीका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा पाँच जनाले नियमित अभ्यास गरिरहेको जनाइएको छ ।

आरती सेवा संचालन गर्न दुई सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि जनाइएको छ ।

View : 171

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved