सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट करदाता सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा मंगलबार आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) जारी गर्दै सेवा प्रवाह सुरु गरिएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले कातिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने निर्णय गरेपछि पालिकाहरूबाट सेवा सुरु गरिएको जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले नागरिकले सहज र सरल ढंगले सेवा पाउने गरी काम गरिने प्रतिवद्धता व्यक्त गरे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले स्थानीय सरकारबाट करदाता सेवा सुरु हुनु खुसीको विषय भएको बताए ।
नगरप्रमुख गुरागाईंले हालको जनशक्तिले तोकिए अनुसार सेवा दिन सक्षम रहेको उल्लेख गर्दै गुणस्तरीय र छिटो सेवा उपलब्ध गराइने विश्वास दिलाए ।
करदाता कार्यालयबाट हुँदै आएका सेवा स्थानीय तहबाट अधिकतम उपयोग गर्न व्यवसायीहरूलाई आग्रह पनि गरे ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved