राजतन्त्रको निरकुंश र स्वेच्छाचारी र गणतन्त्रको कुशासनले आम नागरिकका मौलिक अधिकारहरू कुल्चिएका छन् । राजतन्त्र आफैंमा सामन्तीपनको श्रृङ्खला हो । तर लोकतन्त्रिक गणतन्त्रले सुशासनको प्रत्याभूति गराउने सरल मार्ग पनि हो । तर नेपालमा भने राजावादी र गणतन्त्रवादीको राजसत्ताको स्वादमा आम नागरिक शिकार भएका छन् ।
हिजो राजतन्त्रमा नागरिकहरू शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमलगायत आधारभूत आवश्यकताबाट वञ्चित थिए । तर अहिले गणतन्त्रका संवैधानिक ब्यवस्था बमोजिम मौलिक अधिकारहरूको अनुभूति गरिरहेका छौं । सबै तहको विचार र विवेकले स्वन्त्रतता पाएको अवस्था छ । नागरिक सार्वभौमसत्ता सम्पन्न भएका छन् । जसको तागत नै जनताले ल्याएको गणतन्त्र हो ।
मुलुकमा २०६२–६३ जनआन्दोलनले संघीय लोकतन्त्रिक गणतन्त्रको स्थापना भयो । यसबाट गणतन्त्र, संघीयता, धर्म निरक्षेपता, सामावेशिता, शासकीय स्वरूप, सामानुपातिक लगायतका उपलब्धीहरू प्राप्त भयो । अहिल,े यिनै उपलब्धीहरू राजतन्त्रवादी र गणतन्त्रवादीबीच चरम द्वन्द्वका कारण निराशपन देखिएको छ ।
राजावादी दलहरूले गणतन्त्रका उपलब्धीहरूमाथि हिंसात्मक गिद्धेदृष्टि लगाउन खोजिदै छ । यस्तो हिंसात्मक घटना चैत १५ गते राजावादीहरूको आन्दोलनले इङ्कित गरेको छ । यसप्रति गम्भीर हुन जरूरी छ । तसर्थ गणतन्त्रका उपलब्धीहरूलाई संविधानतया बलियो बनाउन आवश्यकता देखिएको छ ।
शासन ब्यवस्थामा नैतिकताको कमी
राजतन्त्र पराम्परागत वंशका आधारमा शासन ब्यवस्था सञ्चालित थियो । वंश नभई राजकाज चल्दैन थियो । जनताका सेवा र सुविधा कटौति गरेर राजपरिवारलाई तलब र भत्ता दिने प्रचलन थियो । जनतालाई बलियो बनाउने भन्दा राज परिवारलाई सुखी, शान्ति र समृद्धी कसरी बनाउने सड्किर्ण सोचको कारण आज यो गणतन्त्र आएको हो भन्नेमा दुईमत छैन । तर अहिले फेरि आएर राजतन्त्रको बंश गणतन्त्रमाथि हावी हुन खोज्दै छ । गणतन्त्रको शिरमाथि चढ्न राजतन्त्र प्रयत्नरत छ तर गणतन्त्रमा जनता नै मालिक र बलियो हुने भएकोले पुनः राजतन्त्रको परिकल्पना गर्नु नै व्यर्थ हो ।
राजतन्त्रको दमन, अत्याचार, अराजकता र दुस्साहस स्मरण गर्दै गर्दा कहाली लाग्दो इतिहास छ । गणतन्त्रादीमाथि भौतिक र मानसिक प्रहारहरूले मानव अधिकार समेत ख्याल नगर्ने राजावादीहरू रूप फेर्दै अनेक प्रकारका नचाहिने हल्लाहरू फैलाउँदै आएका छन् । मानव भयभित बनाउने खालका घटना परिघटनाहरू गर्दै आएका छन् । जसले नागरिक तथा प्रेस स्वतन्त्रमामाथि हिंसांत्मक प्रहारले गणतान्त्रिक ब्यवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ । तसर्थ लोकतान्त्रिक ब्यवस्थामा विचार र दृष्टिकोणहरूको स्थान रहन्छ तर अफवाहरूको कुनै औचित्य हुँदैन ।
लोकतान्क्रिक गणतन्त्रले सर्वशत्तिशाली नागरिक निर्माण बनाउने लक्ष्य लिएको हुन्छ । यो ब्यवस्थामा विधिको शासन बलियो र उदारवादी चरित्र बोकेको पाइन्छ, राज्यले नागरिकलाई पक्षपोषण गर्ने गर्दछ । जसले नागरिकलाई अधिकार सम्पन्न बनाउन मद्दत पुर्याउँछ ।
गणतान्त्रिक ब्यवस्थाले राज्यको सबै संयन्त्रलाई अधिकार क्षेत्र निर्धारण गरी सन्तुलन कायम राखेको हुन्छ । जसले गर्दा राज्यका संस्थाहरू एक अर्कामा हस्तक्षेप रहदैन । नागरिकलाई सेवा प्रवाह र सुविधामा स्वतन्त्रता हुन्छ । तर स्वेच्छचारी हुँदैन ।
लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न नैतिकताको साखलाई जोगाउन खाँचो छ । बिशेष गरी दलीय नेतृत्वले आचरण र व्यवहार सुदृढ गर्न प्रतिबद्ध रहन सक्नु पर्छ । दलीय नेतृत्वले नैतिकतालाई मूल्यवान वनाउन सके मात्र ब्यवस्थामा शान्ति र स्थायित्वको अनुभूति गर्न सकिने हुन्छ ।
हिन्दुत्वको राजनीति
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएसँगै धर्म निरक्षेपता उपलब्धीमुलक हुन गयो । धर्म निरक्षेपताले केही हिन्दुत्व नागरिकहरूमा निराश ल्यायो । हिन्दुत्वको संस्कार र संस्कृति मासिने हो कि भने डर, त्रास, भय लगायतको शङ्खलाले देशको राजनीति उत्तेजित तवरबाट अगाडि बढ्यो । नागरिकहरूमा हिन्दुत्व भावना प्रगाढ बन्दै गयो । जनमानसमा हिन्दुत्वको जपमाला फैलिदै गयो । हिन्दुत्व समाजबाट मलजल दिने कार्य भयो । जसले गर्दा राजनीतिक दलहरू भित्र हिन्दुत्वको बहस चलन थाल्यो । दलहरू भित्र हिन्दुत्वको वकालत गर्ने गुटहरू निर्माण हुन थाल्यो । दलहरूभित्रै धार्मिक स्वतन्त्राको व्यापकता बढ्दै गयो । जसले गर्दा गणतन्त्रमा धर्म निरपेक्षता अग्नि परीक्षाको रूपमा छ ।
यतातिर राजावादी दलहरूले राजसंस्था फर्काउने सहितको हिन्दुत्वको नारा लिएर सडक र सदनमा छन् । तर यो चााहिं समाधान होइन । सडकमा हिन्दुत्वको नारा दिएर राजसंस्था फर्काउन खोज्नु ठुलो भूल हो । हिन्दुत्वलाई राजतन्त्रसँग जोड्नु मिथ्या कुरा हो । यसले कुनै तुक राख्दैन । राजतन्त्रको तामझाम गर्नु दिवा सपना मात्र हो । राजतन्त्रको वकालत गर्नुृ नै गणतन्त्रमाथि हत्या गर्न खोज्नु हो । राजतन्त्र विश्वले नै नस्वीकारेको ब्यवस्था हो ।
गणतन्त्रवादी दलहरू हिन्दुत्वको एजेण्डा संस्थागत गर्न नसक्दा यसको शाख राजावादी दलहरूले लिएको पाइन्छ । राजावादी दलहरू हिन्दुत्व भजाउने खेलमा लागि परेका छन् । समाप्त भैसकेको राजतन्त्र मृत शरीर जस्तै हो । राजावादीले गरेको आन्दोलन भीड मात्र हो । जुन भीडले हिसांत्मक घटना गराउन अभिप्रेरित गर्यो । जसले गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरज रजकको हिसांत्मक तवरबाट मृत्यु भयो । यो घटना निन्दनीय छ । घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न जरूरी छ ।
राजावादी दल र गणतन्त्रवादी दलहरू बीच हिन्दुत्वको राजनीति स्वच्छ र स्वास्थ्य हुन अवश्यक छ । विधिको शासनमा हिन्दुत्व विचारणीय छ । हिन्दुत्वले संस्कार र संस्कृति बोकेको छ, यसलाई संविधानमा उल्लेख गर्न चुनौतीपूृर्ण छ । हिन्दुत्व एक गम्भीर मुद्दा बन्दै गएको छ । यसप्रति सबै दलहरू गम्भीर हुन खाँचो छ ।
अन्त्यमा, सघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत विकासका लागि सबै दलहरूका नेतृत्व सुध्रिन जरूरी छ । अब हामी प्रविधिमैत्री र सुशासनको युगमा प्रवेश गरिसकेका छौ । सुशसनको जगलाई कसरी बलियो बनाउनेतर्फ सोच्ने बेला आएको छ । यसलाई समय मै ख्याल गर्न सकिएन भने थरी थरी आन्दोलनको उदय भैरहन्छ । दुवै वादी लोकतन्त्रमा आधरित छ ।
दलीय अवरणबाट हिंसात्मक, अराजकता र उदण्डताले नागरिकलाई कष्टकर बनाएको छ । यस्तो तत्वहरूले लोकतन्त्रका संस्थाहरूलाई कमजोर बनाएको छ । नागरिक उदास छन् । तसर्थ राज्यसत्ताका गणतन्त्रवादी दलहरू नागरिकका पहरेदार हुन् । गणतन्त्रमा नागरिक सार्वभौमसत्ता सम्पन्न हुन्छन् । यसमा आँच आउने कार्य गणतन्त्रवादी दलहरूबाटै बेला बखत हुँदै गरेको छ । तसर्थ गणतन्त्रलाई अझ बलियो बनाऊनका लागि राजनीतिक दलहरूको नेतृत्व सुध्रिन जरूरी छ ।
shyamram72@gmail.com
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved