Biratnagar, Morang, Nepal
३ असार २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पूर्वाञ्चल विश्वविद्यालयमा थपियो अर्को ताला

रजिस्ट्रार नियुक्ति खारेजी माग गर्दै प्राध्यापक संघ आन्दोलनमा उत्रिएको हो ।
उद्‌घोष सम्वाददाता
३ असार २०८२, मङ्गलवार

विराटनगर । वर्षैभरीजसो कुनै न कुनै विवादमा मुछिएर तालाबन्दी तथा अन्य झमेला झेल्दै आएको पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा फेरि तालाबन्दी भएको छ । यसपटक पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले तालाबन्दी गरेको हो । संघले सोमबार उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्राध्यापक संघले यसपटक रजिष्ट्रारको नियुक्ति खारेजीको माग अघि सारेर तालाबन्दी गरेको हो । प्राध्यापक संघले पूर्वाञ्चल विश्वविद्यालय भित्रकै प्राध्यापकहरूबाट विश्वविद्यालयका पदहरूमा नियुक्त गर्न माग गर्दै आएको थियो । 

आफ्ना मागको वेवास्ता गरेर विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३० मा प्राडा कल्याणी मिश्र त्रिपाठीलाई रजिस्ट्रार नियुक्त गरेको भन्दै संघले अनिश्चितकालीन तालाबन्दी गरेको संघका अध्यक्ष यज्ञप्रसाद जम्मरकट्टेलले जानकारी दिए ।

विश्वविद्यालयको सेवा आयोगमा नेविसंघले गएको फागुनदेखि नै गरेको तालाबन्दी पनि जारी नै छ । फागुन १७ देखि नेविसंघले तालाबन्दी गरेको थियो ।

प्राध्यापकहरूको बढुवाको विषयमा लगाएको ताला नखोलिदै अहिले प्राध्यापकहरूले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

‘विश्वविद्यालयका पदहरूमा आन्तरिक रूपमा कार्यरत विश्वविद्यालयकै प्राध्यापकहरूबाट पदपूर्ति गर्नुपर्ने माग गरिरहेको अवस्थामा हाल आएर रिक्त रजिस्ट्रार पदमा बाहिरबाट नियुक्त गरिएको’ भन्दै प्राध्यापक संघले ‘नियुक्ति पुनरावलोकन गर्न र भित्रकै प्राध्यापकबाट नियुक्त गर्न’ माग गरेको छ ।

आफ्नो माग वेवास्ता गरी गरिएको नियुक्ति खारेज नभएसम्म उपकुलपति तथा रजिस्ट्रारको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको पनि संघले जनाएको छ । 

तालबन्दीपछि उपकुलपति प्राडा बिजुकुमार थपलियाले यसबारे कुलपति (प्रधानमन्त्री) लाई जानकारी गराएको बताए । 

‘उहँहरूले विश्वविद्यालय भित्रैबाट नियुक्ति गर्नुपर्छ भन्ने माग सम्बोधन नभएकाले तालाबन्दी गरेको भन्नुभएको छ’ उपकुलपति थपलियाले भने ‘सोमबार अबेर तालाबन्दी भएकाले थप छलफल हुन पाएको छैन । अब कुलपतिज्यूसँग छलफल हुन्छ ।’

प्रधानमन्त्रीबाट चार वर्षको कार्यकालका लागि त्रिपाठी नियुक्त भएकी हुन् । पूर्वाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र सेवा आयोग अध्यक्ष दुई महत्वपूर्ण पद रिक्त थिए । 

रजिष्ट्रार नीलमणि पोखरेलको कार्यकाल वैशाख अन्तिम साता सकिएको थियो भने सेवा आयोग अध्यक्ष महेशराज दाहालको कार्यकाल चैत तेस्रो साता नै समाप्त भएको थियो । आयोग अध्यक्ष अझै नियुक्त हुन बाँकी छ ।

मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल  विश्वविद्यालयमा अहिले देशभरका ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

स्नात्तक, स्नात्तकोत्तर, एमफिल र विद्यावारिधिसम्मको पढाइ हुने विश्वविद्यालयम अन्तर्गत देशभर १५२ क्याम्पस छन् । सात वटा फ्याकल्टीमार्फत ६५ वटा शैक्षिक कार्यक्रम विश्वविद्यालयमा सञ्चालनमा छ ।

View : 278

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved