केरा बगानमा दुई बालिका मृत फेला प्रकरण
विराटनगर । नाबालिका दुई छोरीको शव केराबारीमा भेटिएपछि सम्पर्कविहिन बनेकी आमाको खोजीमा मोरङ तीन दिनयता केरा बगान र जंगलमा सर्च गरिरहेको छ । १ र ३ वर्षका बालिकाको हत्या जस्तो देखिने उक्त घटनामा संलग्न रहेको आशंकामा आमा २९ वर्षीय अस्मिता पौडेललाई प्रहरीले खोजी कार्य जारी राखेको छ ।
एक वर्षकी बालिकालाई तीन वर्षकी दिदीले अंगालो हालेको अवस्थामा दुईको शव शनिबार अपरान्ह साढे ४ बजेतिर मोरङ सुन्दरहरैंचा–७ को केरा बगानमा फेला परेको थियो ।
शवको नजिकै बालिकाहरुको चप्पल र आमाको मोबाइल फोन फेला परेको छ । तर उनीहरुलाई घरबाट लिएर हिंडेकी आमा अम्मिता भने फेला पर्न सकेकी छैनन् ।
घटनास्थल क्षेत्रमा मोरङ प्रहरीसहित सुन्दरहरैंचा नगरपालिकाको नगर प्रहरी र स्थानीयबासीले दिनहुँ अस्मितालाई खोजिरहेका छन् । उनीहरुले मृत भेटिएका बालबालिकाहरुकी आमा भेट्ने आशामा प्रहरीले जंगलमा खोजी जारी राखेको हो ।
स्थानीय मालती टोल निवासी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र उनकी श्रीमति २९ वर्षीया अस्मिताका दुई सन्तानको शव शनिबार अपरान्ह केराघारीमा फेला परेको थियो ।
अस्मिताको मोबाइल नै त्यही भेटिएकाले प्रहरीलाई मोबाइल फोनको ‘लोकेशन’ हेरेर उनलाई खोज्न सम्भव नभएको बताइएको छ । फोन साथमा नभएकाले उनी जंगलतिरै हुन सक्ने आशंकामा प्रहरीले खोजबिन गरेको थियो ।
उनको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए । शुक्रबार बेलुका श्रीमान अर्जुनसँग विवाद भएपछि दुई छोरी लिएर अस्मिता घरबाट हिंडेकी थिइन् । शनिबार अपरान्ह छोरीहरुको शव फेला परेपछि घटनामा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।
दिदीको घरमा बसेर कार्कीले आफ्नो घर सोही ठाउँमा बनाउँदै थिए । छोरीहरु १ वर्षीया अर्पणा र ३ वर्षीया आयिकाको शव फेला परेपछि अर्जुन प्रहरीको सम्पर्कमा पुगेका थिए भने अस्मिता सम्पर्कबिहीन छन् ।
दुई बालिकाको शव नजिकै किटनासक औषधिको बट्टा फेला परेकाले उनीहरुलाई विषादी सेवन गराएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
हत्या बालिकाका आमा वा बाबु तथा अरु कसैले गरेको हुन सक्ने आशंकामा प्रहरीले सबैतिर अनुसन्धान गर्दै गरेको जनाएको छ ।
धनकुटाको पाख्रिबास–६ फँलाटे स्थायी घर भएका अर्जुन आफ्नो निजी यात्रुबाहक जीप इटहरीबाट संखुवासभाको खाँदबारीसम्म आफैं चलाउने चालक हुन् ।
सुन्दरहरैंचाको गछियामा पनि जमिन भएको कार्की परिवारको पाख्रिबास र तराई दुबैतर्फ पहिलेदेखिनै आवतजावत थियो ।
View : 187
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved